राजविराज । सप्तरीको बोदे बरसाइन नगरपालिका वडा नम्वर ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुले पहिलो निर्णयका रुपमा शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएका छन् ।
पहिलो चरणमा शिक्षा र स्वास्थ्य क्षेत्रमै सक्दो सुधार गरेर अघि बढ्ने सोच लिएका उनीहरुले शुक्रवार वडा अध्यक्ष किरणकुमार साहको अध्यक्षतामा बसेको बैठकबाट महत्वपूर्ण दुई वटा निर्णय गरेका हुन् ।
वडास्थित दशनी माई राष्ट्रिय प्राथमिक विद्यालय सिलहट प्रसाहीमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने र आथिक वर्ष ०७९/०८० को वडा सिलिङ बजेट अन्तर्गत एम्बुलेन्स खरिद गर्ने निर्णय भएको वडा अध्यक्ष साहले जानकारी दिए ।
‘निर्वाचनमा होमिएको बेला पनि हामीले यहाँका आवश्यकतालाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका थियौं’ उनले भने–‘सोही अनुसार नै पहिलो चरणमा हामीले शिक्षा र स्वास्थ्य क्षेत्रका समस्यालाई सक्दो समाधान गर्ने उद्देश्यका साथ अघि बढेको र पहिलो निर्णयका रुपमा यहाँका सवैको सल्लाहले ती दुई महत्वपूर्ण निर्णय लिएका छौं ।’