मिटरब्याजी रामदेवबाट ठगिनुभो ? प्रहरीले निकाल्यो यस्तो सूचना

राजविराज, १ असार । मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट ठगीमा परेका सर्वसाधारणका लागि सप्तरीले प्रहरीले सूचना जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भानु खड्काले बुधवार सो सूचना गरेका हुन् । जिल्ला खडक नगरपालिका–७ कल्याणपुरका रामदेव, उनकी श्रीमती शिव कुमारी देवी साह, छोरा नन्दकिशोर साह तेली, छोरीहरु रेनु कुमारी साह र अनुराधा कुमारी साहले विभिन्न व्यक्तिलाई ठगी गरेको भनि जाहेरी परेको जारी भएको सूचनामा उल्लेख छ ।

‘निजहरुले मालपोत कार्यालयबाट धितो स्वरुप निजहरुको नाममा रहेको घर जग्गा तथा अन्य जाय जेथा रजिष्ट्रेशनको लिखत पास गराई चर्को ब्याजमा ऋण लगानी गर्ने र लिएको ऋण रकमको साँवा ब्याज समेत चुक्ता गर्दा समेत घर जग्गा समेतका जाय जेथा फिर्ता नगरी ठगी गर्ने गरेको भनी यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा जाहेरी दरखास्त परी अनुसन्धान भईरहेको’ सूचनामा भनिएको छ ।

ती व्यक्तिहरुबाट अन्य कुनै किसिमले ठगीमा परेको भए आवश्यक प्रमाण सहित ईलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क राख्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘निज रामदेव साह तेली समेतले अन्य सर्वसाधारण मानिसहरुको घर जग्गा समेतका जाय जेथा धितो राखी चर्को ब्याजमा ऋण लिई लिएको रकम चुक्ता गर्दा समेत घर जग्गा समेतका जाय जेथा फिर्ता नपाई वा अन्य कुनै किसिमले ठगी गरेको भए आवश्यक प्रमाण सहित लिई यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा सम्पर्क राख्न पठाई दिन हुन सर्वसाधारण सबैमा जानकारी गराई दिन हुन बिनम्र अनुरोध छ ।’ सूचनामा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस