म्याद सकियो तर बनेन भैंसी पालनको लागि भौतिक पूर्वाधार

राजविराज, ४ साउन । स्वच्छ दुध उत्पादनको लागि भैंसी पालन गर्न सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित सुरु भएको आवश्यक भौतिक पूर्वाधार (भवन तथा कोठाहरू) निर्माण कार्यको म्याद सकिएको छ ।

भौतिक पूर्वाधार निर्माण गर्ने जिम्मा पाएका अनुदानग्राही संस्था ‘उज्जवल कृषि सहकारी संस्था लिमिटेड’ले तोकिएको म्याद भित्र भौतिक पूर्वाधार निर्माण कार्य गर्न सकेको छैन् । सो कार्य गर्नका लागि कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गतका नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीत आयोजना सहयोग इकाइ हेटौडासँग २०७८ मंसिर २५ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०७९ जेठ १५ गतेसम्म भौतिक पूर्वाधार निर्माणका कार्य गर्नुपर्ने थियो । सो निर्माण कार्य पूरा गर्न नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीत आयोजना सहयोग इकाइ हेटौडाको अनुदान रकम ८६ लाख ६६ हजार ४८२, बैंक तथा वित्तिय संस्थाको ऋण लगानी ६० लाख र लाभग्राही संस्थाका २६ लाख ६६ हजार ४९१ रुपैयाँ गरी कुल १ करोड ७३ लाख ३२ हजार ९८२ रुपैयाँको लगानी रहने सम्झौता पत्रमा उल्लेख छ ।

तर, सो निर्माण कार्य गराउन अनुदान पाउने ‘उज्जवल कृषि सहकारी संस्था लिमिटेड’ नामक संस्थाले गम्भीरता नदेखाउदा म्यादभित्र सो कार्य हुन नसकेको स्थानीयहरुको गुनासो छ । ‘म्याद सकिएको २ महिना हुनै लागेको छ तर अझैं निर्माण कार्य पूरा हुन सकेको छैन’ स्थानीय राजदेव यादवले भने–‘अनुदान पाउने संस्थाले पनि यसरी निर्माण कार्यमा गम्भीरता नदेखाउनुले अब त शंका पो लाग्न थालेको छ ।’

म्यादभित्र प्रगति देखाएर अनुदानको भुक्तानी लिँदै जाने र म्याद सकिएपछि घाटा लाग्यो भन्दै योजना नै अलपत्र पारेर हिँडिदिने जस्ता कुरा आउन नदिनका लागि तत्काल निर्माण कार्यमा ध्यान दिन जरुरी रहेको बताए ।

‘समयमा किन बनेन? त्यो कुरा अनुदान दिनेले पनि ध्यान दिनु जरुरी छ । नभए देउरी भरुवामै हेर्नुस् न ३१ करोडबढीको लागनीमा सुरु भएको सहकारी शितभण्डार (कोल्ड स्टोर) निर्माण कार्य अलपत्र भयो नि’ उनले भने–‘यहाँको चलन नै यस्तै छ, सुरु गर्ने/गराउने, खाने/खुवाउने मात्रै त्यति हो ।’

सो भौतिक पूर्वाधार (भवन तथा कोठाहरू) निर्माण कार्यमा पनि गुणस्तरहिन इट्टाको प्रयोग भइरहेको स्थानीयहरुको आरोप छ ।

उज्जवल कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष जगदिस यादवलाई ९८१४७१३४०३ नम्वरमा पटक पटक फोन पनि लागेन ।

उता, उपआयोजना व्यवस्थापक श्रवणकुमार यादवले म्याद थप गराउनका लागि प्रक्रिया अघि बढाइएको प्रक्रिया दिए । ‘अनुगमन भइसकेको छ र केही दिनभित्रै निर्णय गरेर म्याद थपको लागि कागजात पठाउने हाम्रो तयारी छ’ उनले भने–‘आफु ३–४ महिनासम्म विरामी परेकोले निर्माण कार्यमा ढिलाइ भएको हो । नभए समयमै निर्माण कार्य पूरा हुन्थ्यो ।’

ईट्टा गुणस्तरहिन प्रयोग भइरहेको विषयमा यादवले भने–‘पहिले ल्याइएको ईट्टा १ नम्वर नै थियो, पछि पोखरीमा ‘वेस’ तयार गर्न ल्याइएको ईट्टा ‘वाल’ मा लगाइएको देखियो । सो बेला म उपचारको लागि धरान गएकोले त्यसो हुन गयो । अहिले सुधार गर्दैछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस