असारे विकासको आतंकः झण्डै ८० प्रतिशत बजेट असारमै खर्च

राजविराज, १२ साउन । सबैलाई भाग पुर्याइने र सबैले मिलीजुली खाने हुँदा असारे विकासको बेथिति नियन्त्रण हुनुपर्छ भन्दै बेलाबखत आवाज उठिरहेको हुन्छ । तर, असारे विकासमा अचाक्लीसँग बजेट खर्चिने क्रम भने घटेको छैन् ।

यसको पछिल्लो उदाहरण सप्तरीको महादेवा गाउँपालिकामा खर्च भएको बजेटले देखाएको छ । सो गाउँपालिकामा योजना छनोट तथा कार्यान्वयन निश्चित मापदण्डको आधार विना नै असार महिनामा मात्रै ७९ दशमलव ९४ प्रतिशत बजेट खर्च गरेको पाइएको हो ।

महालेखा परीक्षककको वार्षिक प्रतिवेदन २०७९ अनुसार गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा ५ लाखभन्दा घटी बजेट भएका १३८ वटा टुक्रे योजना बनाइ ५७ वटा कोटेशन विधिबाट र अन्य उपभोक्ता समिति मार्फत निर्माण गरेको छ । ‘असार महिनामा मात्र ७९.९४ प्रतिशत रकम विकास निर्माणमा खर्च गरेको, योजना टुक्रा गरी कोटेशन विधिबाट गर्ने गरेकोमा योजना छनोट तथा कार्यान्वयन निश्चित मापदण्डको आधारमा भएको देखिदैन् ।’ प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम समयमा विकास निर्माणका कार्य गर्नाले योजनाहरु दिगोपना नहुने अवस्थामा सुधार ल्याउनुपर्ने प्रतिवेदनले सुझाएको छ ।

मनपरी रकमान्तर

गाउँपालिकाले लेखापरक्षणको क्रममा गाउँसभाबाट पारित योजनाहरुको विवरण पटक पटक माग गर्दा समेत पेस गर्न सकेको छैन् । सुत्रअनुसार गाउँपालिकामा पुँजिगततर्फ ६ वटा वडामा १०५ वडास्तरीय, ८५ वटा गाउँपालिकास्तरीय तथा संघीय र प्रदेश हस्तान्तरीततर्फ २३ वटा गरी जिम्मन २१३ योजनामा १३ करोड ३१ लाख बजेट विनियोजन भइ १० करोड ७६ लाख खर्च भएको छ ।

सोमध्ये १७ वटा योजनामा शुत्रमा बजेट तथा खर्च शून्य रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यपालिकाको चैत्र १७ को निर्णयबाट विभिन्न कारणवश सम्पन्न हुन नसकेका योजनाहरु परिवर्तन गर्नुपर्ने भनि उल्लेख गरेकोमा योजनाको नाम र रकम उल्लेख गरेको छैन् भने सो मध्ये सुत्रमा १ करोड ३ लाखको १९ वटा योजनाहरुमा योजना शाखाबाट थप/घट भइ रकमान्तर गरेको कार्यालयले जनाएको प्रतिवेदनले देखाएको छ ।

उता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले विकास निर्माणका कार्यको लागि फागुन÷चैततिर सम्झौता भएर काम सुरु भएता पनि काम सम्पन्नपछि असारतिर नै विल पेस गर्ने गरेकाले सो महिनामा भुक्तानी हुने गरेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस