विद्यालय बन्दका कार्यक्रम स्थगित गर्न मन्त्रालयको आग्रह

जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्द नगर्न आग्रह गरेको छ । मन्त्रालयले आइतवार विज्ञप्ति जारी गर्दै परिषद्ले उठाएका समस्या समाधान खोज्ने प्रयास जारी रहेको उल्लेख गरेको छ ।

‘परिषद्ले २०७९।०४।२३ मा सम्माननीय प्रधानमन्त्री ज्यूसमक्ष पेस गरेको ज्ञापन पत्र र सेवा सुविधा सम्बन्धी मागहरु राखि विगत केही दिनदेखि विद्यालय कर्मचारीहरु आन्दोलनरत रहेकोमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय कर्मचारीहरुको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्नका लागि विगतमा नेपाल शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित कार्यसूचीमा समावेश गरिएको सन्दर्भमा मन्त्रालयबाट अन्य निकायसँग समन्वय गरी समस्याको समाधान खोज्ने प्रयास जारी रहेको सवैलाई विदितै छ।’

विज्ञप्तिमा विद्यालय बन्दको कार्यक्रम स्थगित गरी विद्यालयमा दैनिक पठनपाठन हुने वातावरण बनाउन अनुरोध समेत गरिएको छ । निजामति कर्मचारी सरह तलब नबढेको भन्दै केही दिनदेखि चरणबद्ध आन्दोलनमा रहेका देशभरका विद्यालयका लेखापाल एवं कर्मचारीहरुले भदौ १२ गतेदेखि पढाउने काम ठप्प पार्ने निर्णय गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस