दुई बर्षभित्र जग्गा सम्बन्धी सबै समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

राजविराज, २९ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले अबको दुई वर्षभित्र भूमिहीन सुकुम्बासीका लागि जग्गा सम्बन्धी सबै समस्या समाधान भइसक्ने बताएकी छन् ।

मंगलबार सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ स्थित एकिकृत बस्तीमा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै उनले यस्तो बताएकी हुन् । ‘हालसम्म ४९ हजार भूमिहीन सुकुम्बसी परिवारलाई जग्गाका मालिक बनाइसकेका छौं’ उनले भनिन्, ‘र, अबको २ वर्षभित्र जग्गा सम्बन्धी कुनै समस्या रहने छैन् ।’

उनले दुई वर्षमा ५ लाख भूमिहीन सुकुम्बसी परिवारलाई जग्गाका मालिक बनाइसक्ने लक्ष्य रहेको बताइन् । ‘३ सय स्थानीय तहका ५ लाख भूमिहीन सुकुबासी परिवारलाई जग्गाका मालिक बनाइसक्ने हाम्रो लक्ष्य छ’ उनले भनिन्, ‘विगतमा लालपूर्जासँग भोटको राजनीति भएकोले अझैंसम्म भूमिहीनको समस्या समाधान हुन सकेको छैन् ।’

मन्त्री श्रेष्ठले अब पनि लालपूर्जासँग कसैले भोंटको राजनीति गर्न खोजे प्रतिवाद गर्न जनतासँग आग्रह गरिन् । ‘निर्वाचन आचारसंहिताको बहानामा पनि लालपूर्जा वितरण रोकिँदैन’ उलने भनिन्, ‘यो नियमित प्रक्रिया भएको र जिल्ला भूमि आयोगले जहिले पनि लालपूर्जा वितरण गर्न सक्नेछ ।’

उनले कसैको दया मायाले नभई संविधानमा लेखिएका अधिकार दिनुपर्ने जिम्मेवारी अनुरूप आफूहरूले यो काम गरिरहेको बताइन् ।

सो कार्यक्रममा एकिकृत बस्तीका ७२ भूमिहीन सुकुम्बसी परिवारलाई जग्गाधनि प्रमाण पूर्जा उपलब्ध गराइएको वडा अध्यक्ष तेजनारायण यादवले जानकारी दिए । बाँकी रहेका अन्य परिवारलाई पनि जग्गाधनि प्रमाण पूर्जा उपलब्ध गराइने उनले बताए ।

गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद डा.सुर्यनारायण यादव, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष महेन्द्र खड्का, मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह, राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीका अध्यक्ष हरेराम यादव लगायतले भूमि पाएका परिवारलाई दिपावली मनाएर खुशीयाली मनाउन आग्रह गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस