सप्तरीमा अझै २९६ सक्रिय कोरोना संक्रमित

२०७७ भदौ ३०
राजविराज । सप्तरीमा आज (मंगलवार) बाट निषेधाज्ञा अन्त्य भएको छ । जिल्ला सुरक्षा समितिको सोमवार साँझ बसेको बैठकले आम जनजीविकामा परिरहेको असरलाई दृष्टिगत गरी निषेधाज्ञा हटाउने निर्णय भएको हो ।

निषेधाज्ञा अन्त्य गरिएपनि अत्यावश्यक सेवा मात्र स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्दकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार सार्वजनिक सवारी साधन सञ्चालनमा रोकिएको छ भने निजी सवारी साधन पनि जिल्लाभर मात्र सञ्चालन गर्न पाउने निर्णय भएको हो ।

यसैगरी, अत्यावश्यक पसलहरुलाई स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न पाउने, होटेल र रेष्टुरेन्टले टेक अवे विधि प्रयोग गरी सञ्चालन गर्ने निर्णय भएको छ । सदरमुकाम राजविराजबाहेक अन्य १७ वटा स्थानिय तहमा यसअघि नै निषेधाज्ञा हटाइसकेको थियो ।

जिल्ला प्रशासनमा नागरिक्ता बाहेकका कार्य सुचारु

जिल्ला प्रशासन कार्यालय सप्तरीले आजवाट नागरिक्ता र प्रतिलिपी वाहेकका कार्यहरु सुचारु गरेको छ । सोमवारको निर्णयअनुसार आजबाट कार्यहरु सुचारु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषदकमो साउन २६ गतेको वैठकको निर्णय नं. ४(क) र जिल्ला संकट ब्यवस्थापन केन्द्रको भदौ २९ गतेको वैठकको निर्णय नं. १(ठ) को आधारमा नयाँ नागरिक्ता र प्रतिलिपी नागरिक्ता वितरण सम्वन्धी कार्यहरु पछि निर्णय भई सोहि अनुसार जानकारी गराउने र हाललाई सो वाहेकका सम्पुर्ण कार्यहरु आजदेखि सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

सेवा–कार्यहरु प्रवाहका क्रममा तोकिए वमोजिमका स्वास्थ्य सतर्कता एवम् मापदण्ड पालनालाई कडाईका साथ कार्यान्वयन गरिने उनले वताए ।

अझै २९६ सक्रिय विरामी

सप्तरीमा हालसम्म कोरोना संक्रमितको १ हजार ४० पुगेको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार सोमवार साँझ गजेन्द्रनारायण सिंह अस्पतालका २ स्वास्थ्यकर्मी, उपचाररत ७ जना विरामी र करदाता कार्यालयका १ जनासहित २२ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ४० पुगेको हो ।

जसमा हालसम्म ७३६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ८ जनाको मृत्यु भइसकेको छ । २९६ सक्रिय विरामी रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए । उनका अनुसार राजविराजमा मात्रै १ सय ३० बढी सक्रिय विरामी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस