नागरिकता प्रकरणमा उपमेयर मीरालाई ३ दिन थुनामा राख्न अनुमति, पति महेन्द्र अझैं फरार (फलोअप)

राजविराज, २१ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई ३ दिन थुनामा राख्न म्याद थप गरिएको छ । नागरिकता सम्बन्धि कसूरमा बिहिवार सप्तरी जिल्ला अदालतले उनलाई ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।

गत मंगलबार पक्राउ पुर्जी जारी भएपछि बुधवार उनी प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्रकुमार यादव भने अझैं फरार छन् ।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले उपमेयर मीरालाई ३ दिनको म्याद थप भएको बताए । ‘उपमेयर विरुद्ध ३ दिनको म्याद थप भएको छ, फरार रहनुभएका उहाँका श्रीमानको खोजी कार्य भइरहेको छ’ उनले भने, ‘सो कसूरमा थप अनुसन्धान हुँदैछ ।’

परमादेशपछि मुद्दा दर्ता 

जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गरेको ८ महिना वितिसक्दा समेत कारबाही प्रक्रिया अघि नबढेको बन्दै सोही नगरपालिका–४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका–९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

गत साउनको दोस्रो साता कृष्णले जिल्ला प्रशासन कार्यालयमा गरेको उजुरीअनुसार उपमेयर मीरा र उहाँका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी हुन् ।

विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं।५१ अनुसार श्रीमान् श्रीमति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।

‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ ९ हाल डाक्नेश्वरी नगरपालिका ६ बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिई मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छन्’, उजुरीमा उल्लेख छ ।

मीरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमार्फत माग गरिएको थियो ।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम रहेको भने अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेश गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न प्रमाण राखिएको छ ।

दुई महिनाअघि कृष्णले उच्च अदालतमा दायर गरेको सो मुद्दामा गत जेठ ५ गते न्यायाधिसद्वय हरिप्रसाद भण्डारी र तेजनारायण सिंह राइको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश जारी भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780