राजविराज– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले प्रथम गणतन्त्रवादी नेताको नाममा थालिएको योजना कागजमै सिमित रहनु एकदमै दुःखद् रहेको बताएका छन् ।
बिहिवार राजविराज नगरपालिका–१० विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण हुनुपर्ने मागसहित अनसनरत स्थानीयहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रथम गणतन्त्रवादी नेताको नाममा थालिएको योजना कागजमै सिमित रहनु एकदमै दुःखद् हो’ उनले भने, ‘यस प्रतिष्ठानको सुरुवातमा जसपाका अध्यक्ष उपेन्द्र यादव ज्युको ठुलो भुमिका छ, त्यसैले उहाँलाई यसमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ, जन्म दिएपछि पालन पोषण गर्नुपर्छ, यसरी वेवारिसे छोड्नु हुँदैन् र यहाँका सांसद जनमतका अध्यक्ष सीके राउत ज्युले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
उक्त प्रतिष्ठान निर्माण संघीय सरकारको योजना रहेको चर्चा गर्दै उनले जसपा र जनमत सरकारमा रहेकोले पनि उनीहरुलाई गम्भिरताका साथ पहल गर्नुपर्नेमा जोड दिए ।
नेता महतोले भने, ‘यो संघीय सरकारको योजना हो र अहिले उपेन्द्र ज्यू नेतृत्वको जसपा र सीके ज्यू नेतृत्वको जनमत दुवै पार्टी सरकारमा छ, उहाँहरूलाई यसको लागि गम्भिरताका साथ पहल गर्नुपर्ने हो ।’
उनले यसको लागि आफ्नो तर्फबाट हुनसक्ने पहल गर्ने प्रतिबद्धता समेत जनाए । अनसनरत स्थलमा लोसपा नेता एवम् राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु यादव, नेता जयप्रकाश ठाकुर लगायतको उपस्थिति थियो ।