राजविराजमा लुकाइएको एउटा अपराध !

राजविराज, ७ साउन–नेपाली समाजमा एउटा लोकप्रिय उखान छ, ‘धन देखेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ सप्तरी सदरमुकाम राजविराजमा पनि त्यस्तै घटना घटेको छ ।

राजविराज नगरपालिका–७ का १३ वर्षीय एक नाबालकसँग राजविराजस्थित रामअशिष साहले सञ्चालन गरेको श्री वैभव लक्ष्मी ज्वलेर्समा ३० तोला सुनका गरगहना ८ लाख रुपैयाँमै किनेको खुलेको हो । त्यसो त अबोध बालकसँग सुन जस्तो बहुमूल्य सामग्री खरिद गर्नै नपाउने हो । तर, ज्वेलर्सको सडक पारी दक्षिणतर्फ आमुने–सामुने रहेको घरकै नाबालकले ल्याएको उक्त गरगहना कम मूल्यमै किनेर ठगी गरेको घटनाले सुन व्यवसायीको यहाँसम्मको धन्दा छर्लंग गरिदिएको छ ।

निकट श्रोतका अनुसार अभिभावक उपचारका लागि भारतमा हुँदा ती नाबालकले पटक–पटक गरी सुनका गरगहना लिएर वैभव ज्वलर्समा पुगेका थिए । ज्वेलर्समा बस्ने साहका छोरा अमर साहले ती नाबालकलाई थोरथार रकम दिँदै गरगहना किनेको पाइएको हो ।

‘त्यसरी छिमेकी नाबालकसँग लाखौंको गरगहना खरीद गर्नु गलत मात्रै होइन, यो त कानूनी अपराध नै हो, फेरी लाखौंको कारोबार हुँदा पनि अभिभावक (ज्वेलर्स सञ्चालक) लाई जानकारी नहुने हो र ?,’ ती श्रोतले भन्यो, ‘यो सरासर ठगी हो तर, यहाँका केही ठुल–ठुला उद्योगी–व्यवसायी, सहकारीका मालिक लगायतको संलग्नतामा रातारात ठगीका घटना सामसुम पारेर लुकाईयो ।’

‘सामान्य झैंझगडा मिलापत्र गराउनु गलत नरहेको भन्दै अपराध पनि यसरी मिलाउने नै भयो भने कानूनी राज्यको पनि खिल्ली उडाउनु हो’, श्रोतले भन्यो, ’यस्ता अपराधिक क्रियाकलापमा शरिक रहेका व्यवसायीलाई कानूनी दायरामा नल्याउनुले फेरी त्यस्तो घटनाका लागि मनोबल बढाउने कार्य पनि भएकोले यसको छानविन गर्ने जिम्मेवारी स्थानीय प्रहरी–प्रशासनको पनि हो ।’

‘केही मिडियाकर्मीलाई पनि जानकारी नभएको होइन तर, लामो समयसम्म ती घटना उजागर नहुँदा म बोल्न बाध्य भएँ’, श्रोतले थप्दै भने, ‘घटना उजागर हुँदा कम्तिमा समाज त सचेत हुन्छ नि, अनि घटना उजागर गर्ने दायित्व तपाईको होइन र ?, यहाँ सुनचाँदी व्यवसायको नाममा यी यस्ता ठगी मात्रै होइन, उपभोक्तालाई लुट्ने र राजस्व छलि गर्ने गिरोहको प्रमाण दिन्छु तर पहिले यो घटना उजागर गर्नुस् ।’

यस्तो भन्छन् सप्तरी उद्योग वाणिज्य संघ

मारबाडी समुदायका ती नाबालकसँग लाखौं मूल्य बराबरको उक्त सुन खरिद गर्ने वैभव ज्वेलर्ससँग मिलापत्र गराउनेहरुको सूची लामै छन् । हाम्रा अनुसन्धानले उक्त मिलापत्र गराउनेमा व्यवसायीहरुको नेतृत्व गर्ने र मारबाडी समुदायकासमेत भएकाले सप्तरी उधोग वाणिज्य संघका अध्यक्ष लालबाबु अग्रवालको प्रत्यक्ष सहभागिता देखियो ।

त्यसपछि हामीले अध्यक्ष अग्रवालसित यो प्रश्न राख्दा उनले मिलापत्र भईसकेको घटनालाई किन कोट्याउनु भएको भनि प्रतिप्रश्न गर्दै जानकारी दिन आलटाल गरे । तर, मधेशलाईभसँग भएका केही प्रमाणको आधारमा अध्यक्ष अग्रवाललाई वास्तविकता बताउन बाध्य बनाए । उनले भने, ‘हामीले घटना मिलापत्र गराएर गलती गरेका छैनौं, पीडितलाई क्षतिपूर्ति दिलाउनमा हामी अग्रसरता देखाएका हौं । तर, ज्वेलर्स सञ्चालक रामअशिष जीबाट गलती भएकै हो, आफूले सञ्चालन गरेको व्यवसायमा रामअशिष जीले चासो राख्नुपर्ने थियो ।’

‘बालबालिका वा तिनका साथीहरु गरगहना लिएर पटक–पटक बिक्री गर्न आउँदा चासो लिएर अभिभावकलाई जानकारी गराउनुपर्ने थियो तर त्यसो गरेको देखिएन’ उनले भने, ‘मिलापत्रपछि रामअशिषले ३० तोला सुन फिर्ता गरेका छन्, पीडितले त ३५ तोला भनिरहेका थिए र नाबालकलाई सुन वापत ८ लाख रुपैयाँ दिएको रैंछ । तर, मिलापत्रपछि ३० फिर्ता भयो ।’

उता, ज्वलेर्स सञ्चालक रामअषिशले ती घटना सामाजिकस्तरबाट मिलापत्र गरिएको बताएका छन् । एक त नाबालक र त्यसमाथि ८ लाखमै ३० तोला सुन किन्न पाइन्छ र ? भन्ने प्रश्नमा उनले भने, ‘बच्चाहरुले गलती गरिसकेकाले सुन फिर्ता गरेर मिलापत्र गरिसके ।’

अर्का पीडित भनिएका ती मारबाडी समुदायका नाबालकका अभिभावकले अहिलेसम्म घटनालाई खुलेर सार्वजनिक गर्न चाहिरहेका छैन । परिवारिक श्रोतका अनुसार कानूनी जालझेल भन्दा दुई पैसा नोक्सान सहेर तत्काल चित्त बुझाए ।

के भन्छन् त सप्तरी प्रहरी

दुई परिवारस्तरमा यो सुनकाण्ड सार्वजनिक भएपछि मिलापत्र गराउनुअघि यो विषय सप्तरी प्रहरीसमक्ष पनि पुगेको थियो । यहाँसम्मकी नेपाल प्रहरीका एक जना डीआईजीसमक्ष पनि यो घटनाको खबर भएको थियो । तर, सबैले यो घटना मिलापत्र गराउनु नै राम्रो बुझ्यो ।

कानूनी राज्यमा यसरी कुनै अपराधलाई लुकाउनु र मिलापत्र गराउनु भनेको अर्को अपराध नै हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी ढुण्डीराज नेउपानेले ती घटनाबारे बाहिर–बाहिरै गाइगुइ सुनिए पनि प्रहरीमा निवेदन नआएको बताए ।

‘बाहिर बाहिरै मिलापत्र भयो भन्ने गाइगुई सुनियो तर हाम्रोमा निवेदन आएको छैन्’ उनले भने, ‘निवेदन आएपछि कानूनअनुसार हुने नै हो तर निवेदनै आएको छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780