राजगढमा तलब खुवाउनै ऐन मिचेर नियुक्त गर्छन् करारका कर्मचारी

राजविराज–सप्तरीको राजगढ गाउँपालिकामा तलब खुवाउनैका लागि मनोमानी ढंगले करारका कर्मचारी नियुक्त गर्ने गरेको पाइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) मा गाउँ प्रहरी, सवारी चालक, बगैंचे, सयस, प्लम्बर लगायतका पद तथा सेवामा बाहेक करारमा कर्मचारी नियुक्त गर्न पाइने व्यवस्था छैन् । तर, गाउँपालिकामा आर्थिक वर्ष ०७९/०८०.मा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ती पदबाहेकमा करारमा कर्मचारी नियुक्त गरेको महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख रहेको छ ।

ऐन मिचेर नियुक्त गरिएका करार कर्मचारीलाई ४ लाख ३७ हजार ७२६ रुपैयाँ भुक्तानी गरेको देखिन्छ । त्यस्तै, गाउँपालिकामा करार सेवामा रहेका कर्मचारीहरुको लागि गरेको खर्च अतिरिक्त विभिन्न व्यक्तिलाई डोर हाजिरमा काम गरेको भनि ११ लाख ३२ हजार ५४२ रुपैयाँ तलब भुक्तानी दिइएको छ ।

तलब भुक्तानी लिएका ती कर्मचारीले वास्तवमा काम गरे नगरेको एकिन हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

करार र अस्थायी कर्मचारीलाई परिपत्र विपरित महंगी भत्ता

गाउँपालिकाका जनप्रतिनिधिहरुले आफन्त र नातेदारहरुलाई करारमा कर्मचारी भर्ना गरेको गुनासो भइरहदा अर्थ मन्त्रालयको परिपत्रलाई पनि बेवास्ता गरेर करार र अस्थायी कर्मचारीलाई महंगी भत्ता खुवाइएको छ ।

अर्थ मन्त्रालयले मिति ०७९ वैशाख २१ मा गरेको परिपत्रअनुसार करारका कर्मचारीलाई महंगी भत्ता पाउने व्यवस्था छैन् । तर, गाउँपालिकाले ३० जना करार कर्मचारीलाई वर्षभरि महंगी भत्ता भुक्तानी गरेको छ ।

परिपत्र विपरित भुक्तानी गरिएको ७ लाख २० हजार रुपैयाँ महंगी भत्ता असुल गर्न प्रतिवेदनमा औंल्याएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार