राजविराज, १४ भदौ-सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक (आईजीपी) राजु अर्यालले सप्तरीस्थित तालिम शिक्षालयको समुद्घाटन गरेका छन्।
शुक्रबार आईजीपी अर्यालले जिल्लाको कन्चनरुप नगरपालिका-२ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको उद्घाटन गरेका हुन् । सो अवसरमा माहनिरिक्षक अर्यालले गत बर्षमात्र नेपाल सरकारले स्तरोन्नती गरी सशस्त्र प्रहरी बरिस्ठ उपरिक्षकसहित संरचनागत रुपमा कार्य प्रारम्भ गरेको शिक्षालयले एक बर्षभित्र नै उद्घाटन गर्ने गरी कार्य गरेकोमा शिक्षालयको प्रशंसा गरे ।
सो अवसरमा आईजीपी राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालमा कार्य प्रकृति अनुसारका तालिम केन्द्रहरु रहेको हुनाले सोही अनुसार तालिमहरुको विभाजन गरी उल्लेखित स्थानहरुमा तालिमहरु संचालन गरिने बताए । उनले विपद् व्यवस्थापन, हुल तथा दंगा, सिमा सुरक्षा, युएन शान्ती स्थापना सम्बन्धी तालिमहरु सन्चालनको लागि तालिम शिक्षालयहरु रहेकोमा अबदेखि बिशेष प्रकृतिका कार्यहरुसँग सम्बन्धित तालिम प्रदान गर्ने गरी सप्तरीमा तालिम केन्द्रको स्थापना गरिएको उल्लेख गरे । ‘एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर फाइटिङ् एबं वाटर रेस्क्यू सम्बन्धित तालिमहरु उल्लेखित शिक्षालयमा संचालन गरिने छ’-आईजीपी अर्यालले भने।
उद्घाटन कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिसष्ठान काठमाडौंका सशस्त्र प्रहरी नायब महानिरिक्षक कमल गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले मनतव्य तथा शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरिक्षक दिग विजय सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए।
स्थानिय तहका प्रमुख, उपप्रमुख, कोशी र मधेश प्रदेशका सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति, अन्य तालिम शिक्षालयका समादेशक, मधेश प्रदेशका सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुख लगायतको सहभागिता रहेको कार्यक्रममा तालिम केन्द्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उपरीक्षकसहित १८ जना र शिक्षालयलाई प्रत्येक्ष सहयोग गर्ने स्थानिय तहका प्रमुख, स्थानिय व्यक्तिहरुलाई प्रशंसा एवम् सम्मान-पत्र प्रदान गरिएको थियो।
सो कार्यक्रममा उत्कृष्ट कार्यदेश सम्पादन गरेका प्रभाबकारी शिक्षालयका प्रमुख समादेशक एसएसपी दिगविजय सुवेदीलाई आईजीपी राजु अर्यालले सशस्त्र प्रहरी महानिरिक्षक प्रशंसाबाट विभुषित गरेका थिए ।