जनकपुरधाम–रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत ३२ जेठमा भएको कुशवाहा हत्याका आरोपी सुरेन्द्रप्रसाद कुशवाहालाई जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले मोरङबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बाराकै आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ का ४१ वर्षीय सुरेन्द्रप्रसाद नेपाली सेनाका भगौडा समेत रहेको डिएसपी प्रकाश सापकोटाले बताए ।
सुरेन्द्र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए। पक्राउ परेका सुरेन्द्रमाथि ज्यानसम्बन्धी र हातहतियार खरखजनासम्बन्धी मुद्दा दर्ता भएको डिएसपी सापकोटाले जानकारी दिए ।
बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा हरिभुषणमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
क्याम्पस प्रमुख हरिभुषणको हत्यामा सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्यज्या मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।