राजविराज–सिरहा प्रहरीले कुख्यात भारतीय डाँकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरिफ खान भन्ने आरिफ हुसेन रहेका छन् ।
हुसेन घाइते अवस्थामा नेपालतर्फ भागेको भनि आएको गोप्य सूचनाका आधारमा प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानको कमाण्डमा खटिएको टोलीले सिरहा नगरपालिका–१७ माडरस्थित नेपाल भारतको दसगज्जा क्षेत्रबाट पक्राउ गरेको हो ।
हुसेनलाई हात, खुट्टा लगायत शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए । उनका अनुसार नेपालसहित भारतका विभिन्न स्थानमा हुसेनविरुद्ध डकैती, लुटपाट तथा सङ्गठित अपराध मुद्दा दर्ता छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखामा २०८० साल जेठ १६ गते पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाएर ३८ लाख लुटेको घटनामा पनि उनी प्रतिवादी रहेका थिए ।
त्यसैगरी, २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आईएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई ९ लाख लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिए । उनले भने, ‘अन्य धेरै चोरी डकैतीका घटनामा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । तर सबै घटनामा मुद्दा दर्ता छैन ।’
भारतमा बसी नेपालमा सङ्गठित अपराध गर्दै आएका डाँकाहरूको समूह नै रहेको र पक्राउ परेका डाँकु हुसैन उक्त समूहका नाइके रहेको प्रहरीले जनाएको छ । उक्त समूहका अन्य केही व्यक्ति महोत्तरी प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।
उक्त समूहले नेपालमा मात्र नभएर भारतमा पनि चोरी, डकैती गर्दै आएको र भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको प्रहरी उपरीक्षक पासवानले जानकारी दिए ।