काठमाडौं, २३ वैशाख। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम औचित्यहिन भएको भन्दै कडा आलोचना गरेका छन् ।
मङ्गलबार प्रतिनिधिसभामा बोल्दै उनले नीति तथा कार्यक्रम नवउदारवादभन्दा पनि अगाडि बढेर निजीकरणतर्फ उन्मुख भएको टिप्पणी गरे। उनले कार्यक्रमका शुरुवाती भाषाशैली राजामहाराजाको पालाको शैलीमा आएको र त्यसलाई पछिल्ला आन्दोलनकारीहरूले पनि यथावत धानेको बताए। “नीति तथा कार्यक्रमको औचित्य देखिन्न,” यादवले भने, “सांसदहरूले दिएका सुझावहरू बजेटमा समेटिन्छन् भन्ने विश्वास गर्न सकिन्न।”
यादवले बन्द रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने कुनै योजना नभएको, कृषि प्रणाली परम्परागत रूपमा नै रहेको र त्यसको आधुनिकीकरणबारे कुनै उल्लेख नभएको बताए। साथै, स्वास्थ्य बीमा कार्यक्रम असफल भइसकेको अवस्थामा पनि त्यसलाई सुधार गर्ने कुनै नीति नआएकोमा उनले गुनासो गरे।
संघीयता प्रतिकूल नीति ल्याइएको आरोप लगाउँदै उनले केन्द्र सरकारले प्रदेश, स्थानीय र वडा तहको काम समेत आफैं गर्ने गरी नीति ल्याएको बताए। सुशासन र भ्रष्टाचार नियन्त्रणको दिशामा समेत स्पष्ट योजना नभएको उनको भनाइ थियो।
नीति तथा कार्यक्रमको औचित्यमाथि प्रश्न उठाउँदै यादवले भने, “यदि यस्तो नीति ल्याउनु हो भने अर्को वर्षदेखि नल्याए पनि हुन्छ।” उपभोक्ता वर्ग, गरिब, किसान, मजदुर, सर्वहारा,मधेसी, आदिवासी जनजाति, अल्पसङ्ख्यक, दलित, महिला, विपन्न वर्गलाई केन्द्रमा राखेर नीति तय गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै टिप्पणी गरे ।
तराई मधेश रास्ट्रपति चुरे संंरक्षण कार्यक्रम सञ्चालन हुँदै आएकोमा तराई मधेश शब्द हटाएकोमा गम्भीर आपत्ति समेत जनाएका छन् ।