पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने

काठमाडौं,  १६ असार । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले आफूलाई प्रदान हुँदै आएको सम्पूर्ण सरकारी सेवासुविधा फिर्ता गर्ने निर्णय गरेकी छन् ।

सक्रिय राजनीतिमा पुनः प्रवेश गरेसँगै उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाइने विशेषाधिकारहरू उपयोग नगर्ने घोषणा गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीका निकट स्रोतका अनुसार उनले यसअघि नै शितल निवास छाडिसकेकी थिइन् र आफ्नै निजी निवासमा फर्किएकी थिइन्। “शितल निवासबाट फर्किंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सेवासुविधा छाड्ने निर्णय गरेकी थिइन्। बाँकी सेवा सुविधा पनि फिर्ता गर्ने तयारी भइरहेको छ ।”

स्रोतका अनुसार आगामी १ साउनदेखि लागू हुने गरी सेवासुविधा फिर्ता गर्ने पत्र सरकारलाई पठाउने तयारी भइरहेको छ । यस निर्णयअनुसार सरकारले भण्डारीलाई दिइरहेको केही सुविधा जसमा दुई जना स्वकीय सचिवको तलब, सुरक्षाकर्मी बस्ने घरको भाडा तथा इन्धन खर्च समेत बन्द हुनेछ ।

पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेपछि कुनै पनि सरकारी तलब, आवास खर्च वा अतिरिक्त सुविधा लिएकी छैनन् । यो निर्णयलाई धेरैले राजनीति र सार्वजनिक जीवनमा सादगी र उत्तरदायित्वको उदाहरणका रूपमा लिएका छन् ।

भण्डारीले यसअघि असार १४ गते आयोजित मदन जयन्ती समारोहको अवसरमा नेकपा एमालेको सदस्यता नवीकरण गरेकी थिइन् । सो अवसरमा उनले आफू फेरि सक्रिय राजनीतिमा फर्किएको सार्वजनिक घोषणा गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीको यो कदमलाई नेकपा एमालेभित्र सकारात्मक संकेतका रूपमा हेरिएको छ ।  सार्वजनिक वृत्तमा पनि उनले देखाएको आत्मसंयम र जवाफदेही व्यवहारको सराहना गरिएको छ । धेरैले यसलाई लोकतान्त्रिक अभ्यासमा इमानदारी र पारदर्शिताको नमूना मानेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस