काठमाडौं, २१ असार । नेपालले जितेको छ । मलेसियाको युकेएम ओभलमा सम्पन्न फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको लागि जोय थापा र अभय यादवले अविजित रहँदै क्रमशः २४ र १० रनको महत्वपूर्ण योगदान गरे । त्यस्तै शिवांश बजगाईंले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाए ।
सिंगापुरका लागि कपिस भेन्कटरमणले ४ विकेट लिए भने युवान पाण्डेले २ विकेट लिए । भेदान्स गुप्ता र आकाश तेजाले १–१ विकेट लिए ।
सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले १३ रनमै पहिलो विकेट गुमायो । त्यसपछि शिवांश बजगाईंले एक छक्का र दुई चौका प्रहार गर्दै आक्रामक ब्याटिङमार्फत पारीलाई अगाडि बढाए । नेपालले ४० रनमा लगातार दुई विकेट गुमाउँदा दबाब बढेको थियो । ५८ रनमै नेपालले फेरि दुई विकेट गुमायो ।
छैटौं विकेटका लागि जोय थापा र शुभम खनालले महत्वपूर्ण ३३ रनको साझेदारी गरे । नेपालले ९१ रनमा छैटौं र ९२ रनमा सातौं तथा आठौं विकेट गुमाएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो । जसमा रोहन अस्टिनले सर्वाधिक २३ रन, रिहान नाइकले १५, दान्स गुप्ताले १२ र आकाश तेजाले १० रन बनाएका थिए । अन्य ब्याटरहरू खासै प्रभावशाली हुन सकेनन् ।
नेपालका लागि अभय यादव र सुशील बहादुर रावलले समान ३–३ विकेट लिए भने शुभम खनालले २ विकेट र कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।