धनुषामा ससुराको हत्या गर्ने ज्वाइँ एक सातापछि पक्राउ

जनकपुरधाम, २५असार । धनुषामा घरायसी विवादका कारण आफ्नै ससुराको ज्यान लिएका ज्वाइँ एक सातापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी ४८ वर्षीय बेचन महासेठ रहेका छन्।

उनीमाथि जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको हत्या गरेको आरोप छ। गत असार १८ गते बिहान ससुरासँगको भनाभनपछि महासेठले धारिलो हतियारले पेटमा चार पटक आक्रमण गरेका थिए। गम्भीर घाइते भएका विमलको घटनास्थलमै मृत्यु भएको थियो।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार, घटना लगत्तै फरार रहेका अभियुक्त महासेठलाई मंगलबार जनकनन्दनी गाउँपालिका–स्थित रेलवे स्टेशनबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा हत्यामा प्रयाेग गरिएकाे छुरा समेत बरामद गरेको छ।

एसपी रेग्मीले बताएअनुसार प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादकै कारण हत्या भएको पुष्टि भएको छ। “अहिले कर्तव्यज्यान मुद्दामा आवश्यक अनुसन्धान अगाडि बढाइएको छ,” रेग्मीले जानकारी दिए।

घटनापछि स्थानीय स्तरमा त्रास फैलिएको छ भने प्रहरीले घटनाबारे थप तथ्य संकलन कार्य पनि तीव्र बनाएको जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस