काठमाडौं, असार ३२ – जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति ११ बुँदे असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिएको छ ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारको विफल कार्यशैलीको समग्र समीक्षा गर्दै अबदेखि प्रतिपक्षमा बस्ने औपचारिक निर्णय गरेको हो । बैठकले सरकारको नीति, कार्यक्रम, बजेट तथा समग्र कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि प्रकट गर्दै ११ बुँदे समीक्षा सार्वजनिक गरेको छ । जसपाका अनुसार वर्तमान सरकार जनताको अपेक्षाअनुसार सुशासन दिन असफल मात्र होइन, भ्रष्टाचार, दण्डहीनता र कमिशनतन्त्रमा फँसेको छ ।
बैठकले वर्तमान सरकारको हालसम्मको कार्यको निम्नानुसार समिक्षा गरी निर्णय गरेको छः
१. जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।
२. भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।
३. मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु ।
४. संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।
५. कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।
६. स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।
७. समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।
८. मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।
९. संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।
१०. कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।
११. वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।