राजविराज, ९ साउन । सप्तरीको रुपनी गाउँपालिकामा पशुचौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सरोकारवालासँग छलफल तथा परामर्श थालिएको छ ।
पाँच ओटा वडामा पालिएका पशुचौपायामा एकैसाथ रोग देखिएपछि पशु सेवा विज्ञ केन्द्रको सहकार्यमा रुपनी गाउँपालिकाको पशु सेवा शाखाले रोग नियन्त्रणका लागि पहल थालेको हो । पालिकामा वडा नम्बर १ मा १, ३ मा ७, ४ मा २५, ५ मा ७ र ६ मा ६ ओटा गाई, गोरु तथा बाछाबाछीमा रोग फैलिएको पशुपंक्षी विकास शाखा प्रमुख हरिगवन साहले प्रारम्भिक तथ्याङ्क प्रस्तुत गरेका छन् ।
लम्पी स्किन रोगबाट हालसम्म वडा नम्बर ४ मा ब्रहम्देव यादव, भुवनेश्वर साह र गंगाराम मडरको एक–एकओटा गरी तीन ओटा पशुको मृत्यु भएको छ । पशुपालकहरुले निजी तवरबाट भेटेरिनरी जेटिए बोलाएर आफ्ना पशुचौपायाको उपचार गराउँदैआएका छन् । पीडित पशुपालकहरुले सञ्चारमाध्यममा गुनासो गरेपछि रुपनी गाउँपालिकाको ध्यानाकर्षण भएको छ ।

पालिकाको ६ ओटै वडामा सङ्क्रमित पशुको स्वास्थ्य परीक्षण तथा उपचारका लागि औषधी सहितको प्राविधिक टोली परिचालन गरिएको गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार उक्त टोलीले अन्य पशुहरुमा रोग सर्न नदिन किसानहरुलाई समेत परामर्श दिईनेछ ।
लम्पी स्किन रोग विरुद्धको भ्याक्सिन करिब ६ सय भाइल मात्र पालिकामा उपलब्ध रहेकोले अति प्रभावित क्षेत्रमा तत्काल भ्याक्सिन लगाइने तथा नपुग भ्याक्सिनको व्यवस्था मिलाउन मधेश प्रदेश सरकारसँग माग गरिएको उनले जानकारी दिए । विभिन्न वडामा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्नका लागि कुनै कसर बाँकी नराख्न सम्वन्धित शाखालाई निर्देशन दिई सकिएको जानकारी दिँदै पालिका अध्यक्ष यादवले भने ‘कुनै समस्या, गुनासो वा कठिनाइ भए सिधै मलाई फोन गर्न ६ ओटै वडाका जनतालाई आग्रह गर्दछु, समस्या समाधानका लागि प्रतिवद्ध छु ।’
यसअघि उनले लम्पी स्किन रोग प्रभावित वडा नम्बर ४ को छपकी भथौलमा विहीबार साँझ पशुहरुको अवस्थाबारे जानकारी लिएका थिए । गाई, गोरुमा ज्वरो, छालामा गिर्खा, थकान, खाना नखानु, नाक–आँखाबाट पानी झर्नु जस्ता लक्षणहरु देखिएको तथा अन्त्यमा चौपाया कमजोर भई मृत्यु हुने गर्दछ ।
