राजविराज, १९ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको कार्यसमितिका चयन गर्नका लागि आज ११ बजेदेखि मतदान हुन लागेको छ ।
निर्वाचन समितिले आइतबार हुने भनिएको मतदान स्थगित गरी सोमबारका लागि सारिएको थियो । जिल्ला निर्वाचन समितिले आइतबार साँझ नयाँ तालिका सार्वजनिक गर्दै आज विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म गर्ने मतदानका लागि समय सिमा निर्धारण गरेको छ ।
सर्वसम्मत प्रक्रियाबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ । मतदाता नामावलीमा अत्यधिक दावी–विरोध र संशोधन आएकाले छानबिन गर्नका लागि आइतबार हुने भनिएको निर्वाचन स्थगन गरिएको थियो ।
मतदान सकिएपछि साँझ ५ बजेदेखि नै मतगणना सुरु हुने समितिले जनाएको छ । जसपा सप्तरीको अधिवेशनमा ५ सय १५ जना मतदाता छन् ।
जसपा नेपाल सप्तरीका वर्तमान अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादव छुट्टाछुट्टै प्यानलसहित अध्यक्ष पदका लागि चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।
केदार प्रसाद यादवको प्यानलबाट ४ जना निर्विरोध निर्वाचित भएका छन् । पिछडाबर्गबाट रघुनन्दन चौधरी, पालिका खुल्ला सदस्य सावेन्द्र कुमार यादव, दिप नारायण साह र ओम नारायण यादव निर्विरोध सदस्यमा निर्वाचित भएका छन् । जिल्ला समिति चयनका लागि ७ पदाधिकारी खुल्ला, २५ भूगोल र २५ समावेशी गरी ५७ सदस्य चयन गर्नुपर्नेमा अब निर्वाचन प्रक्रियाबाट ५३ जनाको चयन हुनेछन् ।
राजविराजमा आयोजित जसपा नेपाल जिल्ला सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले साउन १४ गते उद्घाटन गरेका थिए ।