राजविराज, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा भएको गोलीकाण्डको विरोधमा राजविराजमा जारी प्रदर्शनमा प्रहरीले बुधबार दिउँसो अश्रुग्यास प्रहार गरेको छ ।
प्रहरी र स्थानीयबीचको झडपमा मङ्गलवार राती प्रहरीले चलाएको गोली लागेर ३६ वर्षीय लालु यादवको मृत्यु भएको थियो। मृतकका आफन्त र स्थानीयले बिहानैदेखि जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालय अगाडि टायर बाल्दै प्रदर्शन जारी राखेका छन् ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरू भीड तितरबितर भएको छन् । त्यसक्रममा तीन–चार जना सामान्य घाइते भएको प्रदर्शनकारीले जानकारी बताएका छन्।
प्रहरीले निर्दोष व्यक्तिलाई गोली हानेर मारेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन माग गरेका छन्। मृतक स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले प्रदर्शनकारीले ढुंगामुढा गर्नुका साथै सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि तीन राउण्ड अश्रुग्यास फायर गरिएको बताएका छन्। उनका अनुसार ढुङ्गा प्रहारबाट चार–पाँच जना प्रहरी समेत घाइते भएका छन्। अश्रुग्यास प्रहार गरिएपछि अवस्था सहज हुदै गएको छ ।