राजविराज, २२ साउन । सप्तरीको राजगढमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु पछि सुरु भएको आन्दोलन सकिएको छ।
मंगलबार राति सप्तरीको राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा प्रहरीले चलाएको गोलीबाट ३६ वर्षीय स्थानीय लालु यादवको मृत्यु भएको थियो । विहीवार साँझ संघर्ष समिति, सर्वदलीय र सर्वपक्षीय बैठकबाट आन्दोलनरत पक्षहरूले आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका स्थानीय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालु यादवप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। घटनाका क्रममा सर्च र गस्तीमा खटिएका प्रहरी निरीक्षक बीरेन्द्र यादवलाई छानबिन सम्पन्न नभएसम्म जिम्मेवारीबाट हटाउन सम्बन्धित निकायमा सिफारिस गरिने निर्णय गरिएको छ । यस्तै, घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सम्बन्धित निकायलाई पत्र पठाइनेछ। क्षतिपूर्तिको विषयमा छानबिन समितिको प्रतिवेदनका आधारमा निर्णय गरिनेछ।
सहमति अनुसार मृतकको शव परिवारका सदस्य तथा आन्दोलनरत पक्षले बुझी धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिनेछ। सहमतिपछि सदरमुकाम राजविराजको अवस्था सामान्य बन्न थालेको छ।