वीरगञ्जमा हैजा नियन्त्रणका लागि तत्काल पहल गर्न जसपाको माग

काठमाडौँ, ८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगञ्ज महानगरपालिका क्षेत्रमा देखा परेको हैजा संक्रमण नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ।

जसपाका महासचिव लालबाबु राउतले आइतबार जारी विज्ञप्तिमा संघीय सरकार, प्रदेश सरकार र वीरगञ्ज महानगरपालिकाले आवश्यक स्वास्थ्य सामग्री, उपचार सुविधा र दक्ष चिकित्सक परिचालन गरेर प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन माग गरेका छन्। विज्ञप्तिमा हैजा नियन्त्रणका लागि निःशुल्क परीक्षण सुविधा उपलब्ध गराउन, औषधि तथा चिकित्सकीय सहयोग विस्तार गर्न र सरसफाइमा विशेष ध्यान दिन जोड दिइएको छ। साथै, संक्रमण रोकथाममा स्थानीय प्रशासन, जनप्रतिनिधि, उद्योगी–व्यापारी तथा नागरिक समाज सबैको सक्रिय सहकार्य अपरिहार्य भएको उल्लेख गरिएको छ।

जसपाले संक्रमण फैलिन नदिन जनताले व्यक्तिगत सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अपिल गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस