जनकपुरधाम, १० भदौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले चौरचन (चकचना) पर्व र गणेश चौठी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले तराई–मधेशका विभिन्न जिल्लामा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि हिन्दू व्रतालुहरूले मनाउने चौरचन पर्व मधेशको मौलिक सांस्कृतिक पहिचान बोकेको बताउँदै धार्मिक विधिअनुसार चन्द्रदेवको पूजा–उपासना गर्ने परम्परा रहेको उल्लेख गरेका छन् । पुरी, खीर, दही तथा मौसम अनुसारका फलफूललगायतका परिकार चन्द्रदेवलाई अर्पण गरी परिवारजनले सामूहिक रूपमा प्रसाद ग्रहण गर्ने परम्पराले खानपान संस्कृतिको विविधतालाई पनि झल्काउँदै आएको शुभकामना वक्तब्यमा जनाइएको छ ।
उपराष्ट्रपति यादवले यो पर्व मानसिक शान्ति, चन्द्र दोष निवारण र पारिवारिक समृद्धिको प्रतीकका रूपमा मनाइने जनविश्वास रहेको भन्दै यसले स्थानीय परम्परा र सामूहिक आस्था बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । यस्तै गणेश चौठी (गणेश चतुर्थी) भगवान गणेशको आराधनासँग जोडिएको पर्व भएको उल्लेख गर्दै उनले यसलाई केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक आत्मा, सांस्कृतिक पहिचान र सामूहिक चेतनाको उत्सवका रूपमा व्याख्या गरेका छन् ।