‘टुटुबाबु’को निधनमा जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा दुःख व्यक्त

राजविराज, १२ भदौ । जनता समाजवादी पार्टी ९जसपा०, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपक कुमार यादव ‘टुटुबाबु’को असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष यादवले विहीबार जारी गरेको शोक सन्देशमा सप्तरीको महादेवा गाउँपालिका–३, बथनाहा निवासी ६८ वर्षीय मधेश जनविद्रोहमा यादवले पुर्याएको योगदान उच्च स्मरणीय रहेको उल्लेख गरेका छन् । महादेवा गाउँपालिकाको अध्यक्षका रूपमा जनताको सेवामा उहाँले पुर्याएको भूमिका अविस्मरणीय रहने बताएका छन् । शोक सन्देशमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ ।

दिवङ्त राजनीतिकर्मी यादवले महादेवा गाउँपालिकाको अध्यक्ष रहँदा सडक, खानेपानी, विद्यालय र स्वास्थ्य संस्थाको सुधारलाई प्राथमिकता दिएका थिए । पालिकामा महिला, दलित र युवाको सहभागिता बढाउन उनले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

जनमैत्री र सरल स्वभावका कारण दिपक यादव स्थानीय जनतामाझ लोकप्रिय थिए । उनका बुवा विशेश्वर प्रसाद यादव राणा र पञ्चायती शासन विरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए । बुवाकै प्रेरणाले दिपक विद्यार्थी जीवनकालदेखि राजनीतिमा होमिएका थिए । प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन तथा पछिल्लो समय उनी मधेश जनविद्रोहमा समेत उनले सक्रिय सहभागिता जनाएका थिए । उनका एक छोरा, एक छोरी र पत्नी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस