राजविराज, १७ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।
मङ्गलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीद्वारा गोली प्रहार मात्र नभई त्यसको प्रतिकार गर्ने कार्यकर्तामाथि समेत मुद्दा चलाइएको भन्दै आपत्ति जनाए । उनले प्रश्न गर्दै भने, “हजारौं मानिस मार्ने माओवादीलाई मुद्दा चल्दैन, तर प्रहरीको गोलीबाट जोगिन खोज्दा जन्मकैदको सजाय किन दिन्छ सरकार ?”
ठाकुरले प्रदेशसभा सदस्य अभिराम शर्मा लगायतका नेतामाथि दायर मुद्दा फिर्ता गर्न माग गर्दै यस विषयमा हालै प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरी कुरा राखिएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी पनि दिए ।
उनले लोसपाले जनताको अधिकार र स्वायत्तताको रक्षा गर्न मोर्चा निर्माण गरेको दोहोर्याउँदै, रुपन्देही उपनिर्वाचनपछि संघीय र मधेश दुबै तहका सरकारमा परिवर्तन आउने दाबी गरे ।
त्यसैगरी, ठाकुरले मधेश प्रदेशले उल्लेख्य मात्रामा राजस्व बुझाए पनि बजेट वितरणमा अन्याय भइरहेको टिप्पणी गर्दै कम्तीमा ३५ प्रतिशत बजेट सुनिश्चित गर्न माग गरे ।
लोसपाले यसबीच प्रदेश र केन्द्र सरकारविरुद्ध आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने तयारी गरिरहेको जनाएको छ । पत्रकार सम्मेलनमा महासचिव विनोद सिंह, केन्द्रीय नेता जयप्रकाश ठाकुर, अमरकान्त झा, जिल्ला अध्यक्ष सुनिल झा लगायतका नेताहरूको उपस्थिति थियो ।