राजबिराज, १८ भदौ । संघीय लोकतान्त्रिक मोर्चाले बुधबार राजबिराजमा वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान सञ्चालन गरेको छ । कार्यक्रममा सहभागी शीर्ष नेताहरूले मधेश, पहिचान, अधिकार र भूमि विधेयकका विषयमा सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एकै पार्टीमा रहेका नेताहरू अहिले छुट्टिए पनि उत्पीडित समुदायका अधिकारका लागि फेरि साझा मोर्चा बनाउनुपर्ने बताए । उनले वनजंगल संरक्षणको नाममा ल्याइएको भूमि ऐनलाई “राष्ट्रविरोधी” संज्ञा दिँदै, “जससँग लडेर अधिकार लिनुपर्ने उसकै पछि लागेपछि अधिकार पाउन सकिन्न,” भने ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पहिचान र अधिकारका लडाकुहरूलाई झुठा मुद्दा लगाएर जेलमा हाल्नु सरकारको चरित्र भएको बताए । उनले “राजा फालेर गणतन्त्र ल्याउनु उपलब्धि भए पनि आज हैजा फैलिनु, खानेपानी अभाव हुनु र किसान उपेक्षित हुनु लापरवाही हो,” भन्दै आलोचना गरे ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी र आदिवासी जनजाति राज्यविहीन भएर बाँच्न बाध्य भएको टिप्पणी गरे भने जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले “देश हाम्रो हो, त्यसैले राज्य पनि हाम्रो हुनुपर्छ,” भन्ने धारणा राखे ।
तमलोपा केन्द्रीय अध्यक्ष बृषेश चन्द्र लालले लोकतान्त्रिक मोर्चालाई बलियो बनाउन आवश्यकतामा जोड दिँदै गौर घटनालाई राजनीतिक रूपमा समाधान गर्नुपर्ने बताए । उनले संविधान संशोधनमार्फत समावेशीताको ग्यारेन्टी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
जसपा सप्तरी अध्यक्ष केदार यादवले भूमि विधेयक अगाडि बढाउने वा गौर घटनामा अध्यक्ष यादवलाई फसाउने षड्यन्त्र भए आन्दोलनमा उत्रिने चेतावनी दिए ।
नेताहरूले भूमि विधेयकलाई राष्ट्रविरोधी ठहर गर्दै, यसैको बहानामा जसपा अध्यक्षमाथि गरिएको छानबिनलाई सरकारकै षड्यन्त्र भने । उनीहरूले यस्तो कदमले देशलाई चौथो मधेश आन्दोलनतर्फ धकेल्ने चेतावनीसमेत दिए ।
कार्यक्रम राष्ट्रिय मुक्ति मोर्चाका सप्तरी अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तब्य लोसपा नेपालका महासचिव विनोद सिंह तथा सञ्चालन राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सहमहासचिव गजेन्द्र मण्डलले गरे।