जनकपुरधाम । तिहार पर्वको चौथो दिन आज देशभर गोवर्धन पूजाका साथै घरमा पालिएका पशुको पूजाआजा गरी मनाइदैछ ।
मधेशसहित देशैभरिका किसानहरुले कृषिप्रधान समाजमा श्रम, पशु र प्रकृतिप्रतिको सम्मान स्वरूप यो पर्व मनाउँदैआएका हुन् । गोठमा गाई, भैंसी, गोरुको गोठमा गोबरबाट गोबद्र्धनको प्रतिक बनाई पूजाआजा गरिँदैछ । यसलाई स्थानीय भाषामा गोदहन समेत भनिन्छ। गोवद्र्धनमा खासगरी घिरौलाको फूल चढाउनुका साथै दियो तथा धुप बालेर पशुको निरोगिता तथा उन्नति प्रगतिको कामना गर्दै पूजा गरिन्छ ।
कृषि कर्ममा प्रयोग गरिने गोरुका साथै गाई, भैंसी, बाख्रा समेतलाई सरसफाई गरी नयाँ डोरी, गरदामी, घुँघुर, घण्टी गालामा लगाएर सजाइन्छ । रंगरोगन गरिसकेपछि पशुलाई पिठार, सिन्दूर र दूबोले चुमाओन (पूजा) गरिने परम्परा रहेको खुरहुरियाका रमेश कुमार यादव बताउँछन् । उनका अनुसार गोवद्र्धन पूजाका दिन पशु पूजन पश्चात पशुको रेखदेख गर्ने अर्थात गोठालो जाने गैबार–महिसबारलाई समेत पूजा गरी जीउज्यानमा कुनै खतरा नआओस् भनी कामना गर्दै पिठ्युमा पिठारले हत्केलाको छाप लगाउनका साथै दक्षिणाको रुपमा पैसा समेत दिइने चलन छ । यस दिन पशुलाई समेत हरियो घाँस तथा अन्य आहारा दिइन्छ भने पशुलाई जोत्न वर्जित गरिन्छ ।
पौराणिक कथा अनुसार, श्रीकृष्णले वृन्दावनका ग्वालाहरूलाई इन्द्रको सट्टा गोवर्धन पर्वतको पूजा गर्न सुझाएपछि इन्द्र क्रोधित भएर भीषण वर्षा गरे । त्यसबेला श्रीकृष्णले आफ्नो सानो औंलाले गोवर्धन पर्वत उठाई सबै गोकुलवासीलाई आश्रय दिएका थिए। त्यस घटनाको स्मरणमा आजको दिन गोबरबाट गोवर्धन पर्वतको प्रतीक बनाएर पूजा गर्ने चलन छ । यो पर्व श्रम, श्रद्धा र प्रकृतिप्रतिको कृतज्ञताको सन्देश दिन्छ ।
गोवर्धन पूजाकै दिन साँझ खुल्ला स्थानमा पशुलाई हुर्राहुर्री खेल्न लगिन्छ । हुर्राहुर्रीमा सुँगुरको बच्चालाई बाँधेको हुन्छ । ढोलको आवाजसँगै खासगरी भर्खर ब्याएको भैंसीको अगाडि सुँगुरको बच्चा बाँधिएकाे हुर्राहुर्रीलाई घिसारेपछि भैंसी रिसाएर सिंगले मार्ने गर्छन् । यो खेल मिथिला मधेशमा अत्यन्त रोमाञ्चक मानिन्छ । Pic. Credit : Ramesh Kumar Yadav/Khurhuriya
हेर्नुहोस् तस्विर :
