रामभरत साह
जनकपुरधाम । जनकपुरधाम स्थित ख्यातिप्राप्त संस्था मैथिली विकास कोषको आयोजनामा आइतबार एक भव्य समारोहका बीच मिथिला–मधेशको लोक सांस्कृतिक पर्व ‘सामा–चकेवा’ प्रतियोगिता जानकी मन्दिर परिसरमा सम्पन्न भएको छ।
काेषका अध्यक्ष जीवनाथ चौधरीकाे अध्यक्षता तथा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा.अमरप्रसाद यादवकाे प्रमुख आतिथयमा कार्यक्रम आयाेजना गरिएकाे हाे । समाराेहमा पूर्वमन्त्री राम सरोज यादव, मधेश प्रदेश सभा सदस्य रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडि भ्रमर, साहित्यकार एवम् संस्कृतिकर्मी धीरेन्द्र प्रेमर्षि लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा जम्मा तेह्र टिम सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट प्रस्तुति दिने दस टिमलाई प्रतिटिम रु. एक हजारका सान्त्वना पुरस्कार प्रदान गरियो।
सामूहिक प्रदर्शनमा उत्कृष्टता देखाउने ‘सखि बहिनपा’ टिमले रु. ११ हजारको प्रथम पुरस्कार,‘मिथिलेश्वर कल्चरल भिलेज’ टिमले रु. ७ हजारको दोस्रो पुरस्कार र तेस्रो स्थान हासिल गर्ने टिमले रु. ५ हजारको पुरस्कार प्राप्त गरेको आयोजकले जनाएका छन्। ‘सामा–चकेवा’ समारोहमा हजारौं दर्शकको सहभागिता रहेको थियो।
कार्यक्रमले मिथिला क्षेत्रमा लोपोन्मुख सांस्कृतिक परम्पराको जगेर्ना गर्न र नयाँ पुस्तामा मैथिली पहिचानप्रति प्रेरणा जगाउन प्राेत्हान मिल्ने आयोजकले बताएका छन्।
