विश्वासको मत नपाएपछि मुख्यमन्त्री सोनलको राजीनामा

जनकपुरधाम । राजनीतिक समीकरण फेरिँदै गएपछि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अन्ततः पदबाट राजीनामा दिएका छन्।

शनिबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिने क्रममा बहुमतको सुनिश्चितता नदेखिएपछि उनले सदनमै राजीनामाको घोषणा गरेका हुन् । राजनीतिक अस्थिरता बीच गठन भएको सोनल नेतृत्वको सरकार करिब तीन सातामै ढल्न पुगेकाे हो । लोसपाका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । तर सत्ता साझेदार दलहरूको एकता कायम रहन नसक्दा उनको सरकार अल्पमतमा पुगेको हो।

१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतका लागि ५४ मत आवश्यक हुन्छ। तर आजको बैठकमा जनमतबाट जनस्वाराज पार्टीमा गएका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र सांसद त्रिभुवन शाह अनुपस्थित रहे। प्रदेशसभामा हाल लोसपाका ८, जसपा नेपालको १८, जनमतका १३, नेकपा (माओवादी केन्द्र)का ९ र नेकपा (एकीकृत समाजवादी)का ७ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले सोनललाई समर्थन गर्ने निर्णय गरे पनि संघीय समाजवादी पार्टीकी सांसद विमला अन्सारी अनुपस्थित रहिन् ।

यता, माओवादी केन्द्रका सांसद रहबर अन्सारी र माला कर्णले पार्टी निर्णयविपरीत सदनमै विद्रोह गरेपछि सोनलको सरकारको भविष्य झन् अनिश्चित भयो । विश्वासको मत नपाउने स्थिति प्रस्ट भएपछि मुख्यमन्त्री सोनलले बैठकमै पदत्यागको घोषणा गर्दै भने, “म जनताको म्यान्डेट र संविधानको भावनाअनुसार अगाडि बढ्न चाहन्छु, त्यसैले यो सम्मानपूर्वक राजीनामा हो।”

उनले आजै प्रदेश प्रमुखको कार्यालयमा औपचारिक रूपमा राजीनामा बुझाउने बताइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस