जनजातिमा सूचीकृत गर्न हलुवाई समाजको माग

राजविराज । हलुवार्ई समाज नेपालद्वारा सप्तरीको रूपनी गाउँपालिका ३ कटैयामा आयोजित एक कार्यक्रमका वक्ताहरुले हलुवाई जातिलाई आदिवासी जनजातीमा सूचीकृत गराउनु सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

गायत्री देवी साह हलुवार्ईको १३औं दिनको पुण्यतिथिमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा माइन्जन, देवान, छनिया लगायत समाजका पदाधिकारीहरुले यस्तो विचार व्यक्त गरेका हुन् । हलुवाई जातिबाट पनि पछिल्लो समय शिक्षामा पहुँच अभिवृद्धि भए पनि अझैं नीति निर्माण तहमा पहुँच हुन नसकेको भन्दै वक्ताहरुले सङ्घर्षको बाटो अपनाउनुपर्नेमा ऐक्यवद्धता जनाएका छन् ।

हलुवार्ई जातिमा विवाहमा दाइजो लेनदेनले प्रश्रय पाउँदै गएकोमा गम्भीर आपत्ति जनाउँदै त्यस्ता कार्य नगर्न समेत वक्ताहरुले सचेत गराए । माइन्जन, देवान, छनिया परम्पराले समाजलाई एकीकृत गर्न तथा जातीय पहिचान अभिवृद्धिमा योगदान पुर्याएको भन्दै उनीहरुले हलुवार्ई समाज नेपालको अगुवाइमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

हलुवाई समाजका देवान राजु साहको अध्यक्षता तथा केन्द्रीय महासचिव शिवजी साहको प्रमुख आतिथ्य आयोजित श्रद्धाञ्जली सभामा सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य दिनेश यादव, रूपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका संस्थापक अध्यक्ष श्यामसुन्दर यादव, हलुवार्ई समाज नेपालका मधेश प्रदेश अध्यक्ष रामशंकर साह, सप्तरी जिल्ला अध्यक्ष चन्देश्वर साह, सिरहा अध्यक्ष भरत साह, धनुषा अध्यक्ष उमेश साह, राजधोव समाजका केन्द्रीय सभापति भिखो माझी लगायतकाले मन्तब्य व्यक्त गरे ।  कार्यक्रम सञ्चालन हलुवाई समाज नेपाल सप्तरीका सचिव भगवानी  साहले गरेका थिए ।

सामूहिक भोजमा महिला
सामुहिक भोजमा महिलालाई वर्जित गरिँदैआएकोमा हलुवाई समाज नेपालले उक्त बन्धनलाई तोड्न सफल भएका छन् । महिलाले सामूहिक भोजन गर्न पाउनुले  महिला पुरूष बराबर रहेको भनी सन्देश दिएको अगुवाहरुले बताए ।

२०२८ सालमा जन्मिएकी साहको कार्तिक १४ गते ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको १३ औं दिनको पुण्यतिथिको अवसरमा  आयोजित  १२ हजार भन्दा बढी सहभागी शान्ति भोजमा हलुवार्ई समाजका महिलाहरु पहिलो पटक पुरुषसँगै बसेर भोजन गरेको समाजका संस्थापक महासचिव महेश प्रसाद साहले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस