लघुकथा- उज्यालो कक्षा

​नन्दलाल आचार्य

​नन्दलाल आचार्य

​कक्षाकोठाभित्र प्रवेश गर्नासाथ शिक्षक विश्वमणिलाई देखेर रमेशले सोध्यो, “सर, आज किन यति खुसी हुनुहुन्छ ?”
​विश्वमणि सरको अनुहारमा अझ ठूलो मुस्कान छायो । उनले स्नेहपूर्वक भने, “आज म सिकाउन मात्र होइन, तिमीहरूबाट सिक्न पनि आएको छु, बाबु !”
​पूरै कक्षा एकैछिनमा शान्त भयो । सरले आफ्नो झोलाबाट एउटा पुरानो डायरी निकाल्दै भने, “तयारी गरेर नआएको भए म तिमीहरूको आँखामा आँखा जुधाएर हेर्नै सक्दिनथें होला ।”

​सधैँ डराउने स्वभावकी सुष्माले हिम्मत गरेर हात उठाइन्, “सर, तपाईं त हामीलाई डर देखाउने खालको होइन, बरु सधैँ रमाइलो महसुस गराउने असल गुरु हुनुहुन्छ ।”

सर सुष्मा नजिकै गए र उनलाई हौसला दिँदै बोले, “पढाइ भनेको पीडा वा बोझ होइन । यो त मनका ढोकाहरू खोल्ने एउटा खुसीको उत्सव हो, सुष्मा ।”
​यो सुनेर पूरै कक्षा उज्यालिएझैँ भयो र विद्यार्थीहरू खुलेर हाँसे ।
​ठीक त्यहीबेला, ढोका एक्कासि खुल्यो र कडा स्वभावका हेडसर भित्र छिरे । उनको आवाज गर्जियो, “के भइरहेको छ यो कक्षामा ? किन यस्तो हल्ला र रमाइलो ?”

​विश्वमणि सरले आफूलाई संयमित राखे, तर उनको बोलीमा दृढता थियो । उनले स्पष्ट शब्दमा भने, “शिक्षक हुनु भनेको जागिर नपाएकाहरूको अन्तिम विकल्प वा सहारा मात्र होइन, हेडसर ! यो त आफ्नो वास्तविक क्षमता प्रमाणित गर्ने एक महत्त्वपूर्ण अवसर हो ।”

​हेडसर निशब्द भए, उनको कडापन एकाएक मत्थर भयो । कक्षामा विद्यार्थीहरूले ताली बजाए । ​सबै कुरा नियालिरहेकी सुष्माले बिस्तारै भनी, “सर, आज मैले ठूलो कुरा बुझें- उज्यालो विचार बोकेको शिक्षकले मात्र विद्यार्थीहरूको उज्यालो भविष्य बनाउन सक्छ ।”

२०८२ मङ्सिर ११ गते ।

Author:



क्याटोगरी छान्‍नुहोस