राजविराज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री डा. महाबीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकालाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले केही पालिकाले कानुन विपरीत रूपमा विद्यालय चलाउँदै आएको गुनासो बढेपछि मन्त्रालयले तत्क्षण कदम चालेको जानकारी दिएका हुन्। मन्त्री पुनका अनुसार, नियमअनुसार विद्यालय व्यवस्थापन समिति तुरुन्त गठन गर्न सम्बन्धित पालिकाहरूलाई औपचारिक सूचना पठाइएको छ ।
उनले चेतावनी दिँदै लेखेका छन् ‘यदि पालिकाले तोकिएको विधि नमाने भने त्यस्ता विद्यालयले पाउने संघीय अनुदान नै रोक्का गरिनेछ ।’ शिक्षा मन्त्रालयले हाल यस्ता पालिकाहरूको नाम संकलन गरिरहेको र पीडित अभिभावकहरूले पनि जानकारी दिन सक्ने व्यवस्था मिलाइएको मन्त्री पुनले जनाएका छन् ।
मन्त्रालयका अनुसार, विद्यालय व्यवस्थापन समिति नहुँदा विद्यालयमा पारदर्शिता, जवाफदेहिता र शैक्षिक गुणस्तर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्ने भएकाले कडाइ आवश्यक भएको उल्लेख गरेका छन् । मन्त्रीले पुनले सामाजिक सञ्जालमा लेखेका छन्ः
विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन्। त्यस्ता पालिकाहरूलाई नियमअनुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ। अन्यथा त्यस्ता पालिकाहरुको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ। त्यस्ता पालिकाहरुको नाम संकलन भैरहेको छ। पीडित अभिभावकहरुले पनि जानकारी दिनसक्नु हुनेछ ।