एकै खेलमा ६ विकेट: शाहब आलमले बनाए एनपिएलको नयाँ रेकर्ड

काठमाण्डाैँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गोर्खाजका बलर शाहब आलमले ऐतिहासिक प्रदर्शन गरेका छन् ।

उनी एनपिएल इतिहासमै ह्याट्रिक लिने पहिलो खेलाडी बनेका छन् । पोखरा एभेञ्जर्सविरुद्धको खेलमा आलमले शानदार बलिङ गर्दै जम्मा २५ रन खर्चिँदै ६ विकेट लिए । एकै खेलमा सबैभन्दा धेरै विकेट लिने उनी एनपिएलका पहिलो बलर समेत बनेका छन् ।

चार ओभरको आफ्नो स्पेलमा सुरुमा उनले जेसन रोयलाई आउट गर्दै टीमलाई शुरुआती सफलता दिलाए । त्यसपछि १७.४ ओभरमा किरण ठगुन्नालाई आउट गर्दै दोस्रो विकेट लिए । खेलको अन्तिम ओभरमा चितवन राइनोजलाई जितका लागि २० रन आवश्यक रहँदा शाहबको घातक बलिङले खेल पूर्णरूपमा घुमाइदियो ।

पहिलो बलमै उनले ऋषि धवनलाई मिलिन्द कुमारमार्फत क्याच गराए । दोस्रो बलमा विपिन खत्रीलाई स्टम्पिङमार्फत आउट गरे । तेस्रो बलमा आकाश चन्द पनि मिलिन्द कुमारकै हातबाट क्याच आउट भए । अन्तिम बलमा सागर ढकाललाई पनि आउट गर्दै उनले ह्याट्रिकसहित छैटौँ विकेट हात पारे ।

यसअघिकाे कीर्तिमान चितवन राइनोजका रञ्जित कुमारको नाममा थियो । उनले विराटनगर किंग्सविरुद्ध ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए । आलमको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौँ गोर्खाजले महत्वपूर्ण जीत हात पार्दै प्लेअफ यात्रालाई थप सुदृढ बनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस