काठमाण्डाैं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महामहिम महासचिव मोहम्मद गोलाम सरवरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदान पश्चात सार्क मुलुकहरुमा पछिल्लो राजनीतिक विकासक्रम र क्षेत्रीय सहयोग लगायत बहुआयामिक विषयमा महत्वपूर्ण छलफल भएको थियो । उपराष्ट्रपति यादवले नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा सार्क सचिवालय नेपालमा रहेको सन्दर्भमा महासचिवको जिम्मेवारी निर्वाह गर्ने कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने बताए। उनले यस वर्ष सार्क चार्टर हस्ताक्षर भएको ४०औँ वार्षिकोत्सवको विशेष अवसरमा महासचिवलाई बधाई दिँदै विगतको लामो यात्रामा सार्कले धेरै चुनौतीहरू पार गर्दै आजको अवस्थामा आइपुगेको र यस संस्थाप्रति दक्षिण एशियाका जनमानसको ठूलो अपेक्षा रहेको उल्लेख गरे ।
पछिल्लो राजनीतिक विकासक्रमबारे उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालमा गत सेप्टेम्बरमा भएको ‘जेन–जी’ आन्दोलनपश्चात देश आम निर्वाचनतर्फ अग्रसर रहेको र सरकारको मुख्य प्राथमिकता आगामी मार्चमा हुने निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरणमा केन्द्रित रहेको बताए ।
क्षेत्रीय सहयोगका विषयमा उपराष्ट्रपति यादवले सन् १९८५ मा स्थापना भएको सार्कले विगत ३७ वर्षमा आपसी सहयोगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको र संगठनात्मक तथा कानूनी संरचनाहरू विकास भएको बताए । नेपाल सार्क बडापत्रमा अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले दक्षिण एशियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति तथा सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरे।
उपराष्ट्रपति यादवले एक अर्ब ७० करोड भन्दा बढी जनताको आशा सार्कको प्रभावकारितामा रहेको भन्दै सदस्य राष्ट्रहरूले यसलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नुपर्नेमा जोड दिए । उनले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्नमा भएको ढिलाइले सार्कको कार्यमा असर परेको उल्लेख गर्दै सदस्य राष्ट्रहरूले अवरुद्ध सम्मेलन छिट्टै आयोजना गर्न सहमति जुटाउनेमा आफू आशावादी रहेको बताए ।
उपराष्ट्रपति यादवले नेपाल सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा सदस्य राष्ट्रबीच एकता र ऐक्यवद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले सार्कका उच्च बैठकहरू नभए पनि सार्कका क्रियाशील संयन्त्र तथा विभिन्न केन्द्रहरूलाई सार्कको मर्मअनुरूप क्षेत्रीय सहयोग अभिवृद्धिमा उपयोग गर्न महासचिवको विशेष ध्यान जाने अपेक्षा व्यक्त गरे ।
उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा आफ्ना विचार र योजनाहरू व्यक्त गरेकोमा महासचिवलाई धन्यवाद दिँदै उनको सक्षम नेतृत्वले सार्कलाई थप सक्रिय बनाउन र क्षेत्रीय चुनौतीहरूको सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे।
महामहिम महासचिव सरवरले उपराष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्दै सार्क प्रक्रियालाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको सहकार्य अपरिहार्य रहेको र नेपाल सरकारको सहयोगप्रति आभार प्रकट गरे