नेशनल जियोग्राफिकमा सेफ सन्तोष साहको ‘मिथिला थाली’

काठमाडाैँ । जनकपुरधाम निवासी नेपाली सेफ सन्तोष साहको ‘मिथिला थाली’लाई नेशनल जियोग्राफिक म्यागजिनले विशेष स्थान दिएको छ ।

विश्वको प्रतिष्ठित प्रकाशनमध्ये एक मानिने म्यागजिनले साहको परम्परागत मिथिला भोजनलाई आधुनिक शैलीमा पुनःव्याख्या गरिएको उत्कृष्ट स्थानीय परिकारका रूपमा प्रस्तुत गरेको हो । स्थानीय सामग्रीको प्रयोग, घरेलु स्वादको संरक्षण र परम्परागत पकाउने तरिकालाई आधुनिक ढङ्गमा रूपान्तरण गर्ने साहको शैलीले नेपाली खानालाई विश्वमाझ परिचित बनाइरहेको म्यागजिनले जनाएको छ ।

आफ्नो परिकार र जन्मथलोको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुनु गर्वको विषय भएको सेफ सन्तोषले बताएका छन् । जनकपुर र मिथिलाको स्वाद संसारभ चर्चिनु मेरो लागि प्रेरणादायी उपलब्धि भएको भनी प्रतिक्रिया दिएका छन् । गुणस्तर र मौलिकतालाई निरन्तरता दिँदै जनकपुरलाई धार्मिक, सांस्कृतिक र पाक–परम्पराले समृद्ध शहरका रूपमा वर्णन गरिएको छ ।

जानकी मन्दिरको कलात्मकता, शहरको धार्मिक वातावरण र तीर्थयात्रीहरूको गतिविधिले जनकपुरलाई अद्वितीय गन्तव्यका रूपमा उभ्याएको उल्लेख छ । लोन्ली प्लानेटले पनि यसअघि जनकपुरलाई सांस्कृतिक तथा खाद्य पर्यटनका लागि उदीयमान शहर सूचीमा राखिसकेको छ ।

साहले मिथिला थालीलाई जनकपुरबाहिर पनि विस्तार गर्दै ललितपुरको झम्सिखेल, काठमाडौँको नक्साल र गौशालामा ‘मिथिला थाली बाइ सन्तोष शाह’ सञ्चालन गरेका छन् । जनकपुरको प्रसिद्ध माछा परिकार चखाउन उनले नक्सालमै ‘जनकपुर फिस हाउस’ स्थापना गरेका छन् । निकट भविष्यमा वीरगञ्जमा नयाँ शाखा खोलेर मिथिला भोजनलाई अझ व्यापक बनाउने योजनामा साह जुटिरहेका छन् ।

Source: Onlinekhabar.com

Author:



क्याटोगरी छान्‍नुहोस