जनमत पार्टीका अध्यक्ष डा. सिके राउतद्वारा सडक शिलान्यास

राजविराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रदेश सरकारको एक प्रादेशिक निर्वाचन क्षेत्र–एक सडक कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज नगरपालिका वडा नं. १२ र १३ जोड्ने सिगियौन–खाँडो नदी हुलाकी सडकको सोमबार शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको कुल १५ करोड ६८ लाख ३३ हजार ३ सय ४१ रुपैयाँ ४९ पैसाको लागतमा निर्माण हुन लागेको छ । उक्त सडकका लागि डि एण्ड एस केभी जेभी, काठमाडौंसँग २०८२ असार २० गते सम्झौता भएको हो ।

पूर्वाधार विकास कार्यालय सप्तरी, राजविराजका प्रमुख कृष्णदेव झाका अनुसार २०८४ असार १९ गतेभित्र निर्माण कार्य सम्पन्न गरिनेछ । उनका अनुसार बस्ती क्षेत्रमा सडक ८ मिटर र खुला क्षेत्रमा १० मिटर चौडाइमा कालोपत्रे गरिनेछ ।

सप्तरी क्षेत्र नं. २ (२) का लागि पाँच किलोमिटर सडक निर्माण गर्ने योजनाअन्तर्गत यो परियोजनाको सुरुआत गरिएको हो । सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको दैनिक आवागमन सहज हुनुका साथै व्यापार, शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास लिइएको छ ।

शिलान्यास कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. जयकान्त राउत, मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादव, राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविण, पूर्वाधार विकास कार्यालय सप्तरीका प्रमुख कृष्णदेव झा, जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साह, पार्टी प्रचार–प्रसार प्रमुख उपेन्द्र साह, जसपा नेपालका नेता लक्ष्मण यादव, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले समयमै गुणस्तरीय सडक निर्माण सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । ।

Author:



क्याटोगरी छान्‍नुहोस