काठमाडौँ, २२ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व ंिसंचाइ मन्त्री उमेश कुमार यादव औपचारिक रुपमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
काठमाडौँ स्थित जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवले उनलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्दै नेता उमेश कुमार यादवले देशको वर्तमान राजनीतिक अवस्था, संघीयताको प्रभावकारी कार्यान्वयन, मधेशको अधिकार, पहिचान र सामाजिक न्यायका सवालमा जसपा नेपालको एजेन्डा स्पष्ट, जनमुखी र विश्वसनीय रहेकोले आफू जसपा नेपालमा प्रवेश गरेको बताए । पार्टी नीति सिद्धान्त र कार्यदिशालाई पूर्ण रुपमा अवलम्वन गर्दै आफू अगाडि बढ्ने नेता यादवले प्रतिवद्धता समेत व्यक्त गरे ।
नेता यादवलाई स्वागत गर्दै अध्यक्ष उपेन्द्र यादवले पूर्वमन्त्री उमेशको प्रवेशले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले मधेश आन्दोलन, समावेशी लोकतन्त्र र संघीयताको संस्थागत विकासका लागि अनुभवी नेताहरूको भूमिकाले पार्टीलाई राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
पूर्व मन्त्री यादव लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका छन् । प्रचण्ड नेतृत्वको नेकपाका केन्द्रीय सदस्य समेत रहेका पूर्व सिँचाइ मन्त्री यादव सप्तरी २ बाट निर्वाचित संविधानसभा सदस्य समेत हुन् ।
विद्यार्थी जिवनकालदेखि नै राजनीतिमा सक्रिय रहँदैआएका उनी तत्कालीन जनयुद्धका क्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । नेकपा (माओवादी)मा आवद्ध भई सेल कमिटीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । उनले मधेशी राष्ट्रिय मुक्ति मोर्चा सप्तरीको संयोजक, जिल्ला जनसरकार प्रमुख, जिल्ला जनमिलिसिया कमिसार, जनमुक्ति सेनाको बटालियन कमिशार तथा वाईसीएल नेपालको मिथिला क्षेत्र संयोजकको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
पार्टी प्रवेशका अवसरमा पार्टीका नेता एवम् पूर्वमन्त्री रेणु कुमारी यादव, पार्टीका महासचिव एवम् मधेश प्रदेशका संस्थापक मुख्यमन्त्री लालबाबु राउत, महासचिव रामकुमार शर्मा लगायतका नेताहरुले नव प्रवेशी नेता यादवलाई स्वागत गरेका छन् ।