काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देशका केही भूभागमा पछिल्ला दिनहरूमा देखिएका सम्प्रदायगत असमझदारी, वैमनस्यता र द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सम्पूर्ण नेपालीलाई अपिल गरेका छन् ।
मङ्गलबार जारी अपिलमा उपराष्ट्रपति यादवले यस्ता घटनाले नेपालको साझा सामाजिक सद्भाव र आपसी विश्वासमा नकारात्मक असर पारिरहेको उल्लेख गरे । उनले नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष, समावेशी र विविधतायुक्त समाजका रूपमा परिभाषित गरेको स्मरण गराउँदै प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा पालन गर्ने अधिकार सुनिश्चित गरिएको बताए।
उपराष्ट्रपति यादवले नेपालको वास्तविक शक्ति नै विविधता, सहिष्णुता र परस्पर सम्मानमा निहित रहेको उल्लेख गर्दै जुनसुकै धर्म, सम्प्रदाय वा समुदायका भए पनि सबै नेपाली एउटै राष्ट्रिय परिवारका सदस्य भएको स्पष्ट पारे। आपसी भाइचारा, सहअस्तित्व र विश्वास नै नेपालको पहिचान भएको भन्दै त्यसलाई अक्षुण्ण राख्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ ।
धार्मिक तथा सांस्कृतिक भिन्नतालाई विभाजनको कारण होइन, समृद्ध विविधताको धरोहरका रूपमा स्वीकार गर्न आग्रह गर्दै उनले अफवाह, उत्तेजना र हिंसात्मक गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराए । संवाद, मेलमिलाप, अपनत्वभाव र सहयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजले समन्वयात्मक र सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उपराष्ट्रपति यादवले एकताबद्ध, शान्तिपूर्ण र समावेशी नेपाल निर्माण नै साझा लक्ष्य भएको बताए । साथै, संवेदनशील परिस्थितिमा शान्ति, संयम र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।