पत्रकार विनय कर्णलाई लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार

राजविराज । सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर विगत डेढ दशकदेखि पत्रकारिता गर्दै आएका विनय कुमार लाल कर्ण शनिबार राजविराजमा आयोजित एक कार्यक्रमका बिच पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्वारा स्थापना गरिएको यस वर्षको ३० औँ लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । ३२ औँ लोकेन्द्र स्मृति दिवसका अवसरमा महासंघले आयोजना गरेको कार्यक्रममा प्रेस युनियन सप्तरी शाखाका अध्यक्ष समेत रहेका गोरखापत्र दैनिकका सप्तरी प्रतिनिधि कर्णलाई नगद ५ हजार ५ रुपैयाँ, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय ललिता कुमारी साह र राजु विश्वकर्मा तथा पुरस्कार छनोट समितिका संयोजक एवं महासंघका पूर्व सभापति विष्णु कुमार मण्डलले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका छन् ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै वक्ताहरुले सत्य, तथ्य एवम् निर्भीकताका साथ पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् । विश्वसनीय र जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउँदै सामाजिक सञ्जाल र युट्युबमार्फत फैलिने भ्रामक सूचनाले पत्रकारिता पेशामा चुनौती थपिएको उनीहरुले बताए ।

उक्त अवसरमा प्रेस मञ्च सप्तरीका अध्यक्ष धर्मपाल राउत, प्रेस सेन्टर सप्तरीका अध्यक्ष विन्दु यादव, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरी अध्यक्ष कृष्ण कुमार मण्डल समेतले मन्तव्य व्यक्त गरे ।

कार्यक्रम सञ्चालन महासंघ सप्तरीका सहसचिव डम्बर राई, स्वागत उपाध्यक्ष राम नारायण विश्वास तथा धन्यवाद ज्ञापन महिला उपाध्यक्ष सुधा देवले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस