राजविराज । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चन्द्रकान्त चौधरीको शनिवार निधन भएको छ ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर–५, पातो निवासी चौधरीको आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रिय जनता पार्टी (राजपा)बाट उनी २०७४ सालको प्रतिनिधिसभा सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । नेपालको राजनीतिमा सक्रिय रहँदैआएका उनी जलस्रोत, ऊर्जा तथा सिँचाइ राज्यमन्त्री समेत भएका थिए ।
नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय रहेका उनी पछिल्लो समय मधेश केन्द्रित दलमा सक्रिय थिए । पातो बजार तथा डाक्नेश्वरी नगरपालिकाको विकासमा उनको ठूलो योगदान छ । समाजसेवाको क्षेत्रमा उनलाई दानवीरको रुपमा चिनिन्थ्यो ।
आइतबार आफ्नै जन्मथलोमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।