काठमाडौँ, २५ पुस । बाबुको पहिचान नखुलेका व्यक्तिहरूलाई आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई नेपाल राजपत्रमा प्रकाशन भएपछि नागरिकता ऐन, २०६३ मा गरिएको व्यवस्था कार्यान्वयनमा आएको हो ।
नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता पाउने प्रक्रियालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गरी नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ ल्याइएको थियो । उक्त ऐन गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । सो ऐनमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्न नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन गरिएको हो ।
मन्त्रिपरिषद्बाट पुस ११ गते स्वीकृत उक्त संशोधित नियमावली पुस २१ गते नेपाल राजपत्रमा प्रकाशित भएको थियो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले यस व्यवस्था कार्यान्वयनका लागि देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरिएको जानकारी दिए ।
संशोधित नियमावलीमा उल्लेख भएअनुसार नेपाली आमाबाट विदेशमा जन्मिएका, तर विदेशी राहदानी वा नागरिकता नलिएका, बाबुको पहिचान खुल्न नसकेको तथा नेपालमा स्थायी बसोबास गरिरहेका व्यक्तिले तोकिएको प्रक्रिया र आवश्यक कागजात पूरा गरेपछि अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन् ।
यस व्यवस्थाले बाबुको पहिचान नखुलेका कारण नागरिकताबाट वञ्चित हुँदै आएका व्यक्तिहरूलाई नागरिकता प्राप्त गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ ।