काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच औपचारिक रूपमा एकीकरण भएको छ ।
दुवै दलबीच गत पौष १३ गते एकीकरण गर्ने सहमति भई संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । सोही सहमतिलाई आधार मानी एकीकरण प्रक्रिया अघि बढाउँदै आइतबार अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार एकीकृत दलको नाम जनता समाजवादी पार्टी, नेपाल नै रहनेछ भने पार्टीको चुनाव चिन्ह छाता कायम गरिएको छ । पार्टीको झण्डा माथिल्लो भाग रातो, बीचमा सेतो र तल्लो भाग हरियो रंगको रहने तथा बीच भागमा ढल्किएको छाताको चिन्ह रहने छ ।
एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ। सो समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ । दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुँदासम्म केन्द्रीय समन्वय समिति नै संगठन सञ्चालन, निर्देशन, निर्णय र परिचालनको सर्वोच्च निकाय रहनेछ ।
सम्झौताअनुसार दुवै पार्टी मातहत रहेका सबै तहका संगठन, भ्रातृ तथा शुभेच्छुक संस्था, विभाग र संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहनेछन्। समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म संगठनहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने उल्लेख गरिएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति भएको छ । साथै, मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि महिला, अल्पसंख्यक र दलित समूहमा यसअघि दिइएको उम्मेदवारी निस्क्रिय गर्ने निर्णय पनि गरिएको छ।
केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणिकरण गरिने व्यवस्था छ । समितिमा लोसपाका अध्यक्ष महन्थ ठाकुर संरक्षक र जसपाका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहेका छन्। सम्झौतामा जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरले हस्ताक्षर गरेका छन् ।