विशेष महाधिवेशनमा पुरानो विधान लागू, आज मनोनयन दर्ता

काठमाडौँ, २९ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले आयोजना गरेको विशेष महाधिवेशनमा पार्टीको अघिल्लो विधानअनुसार नै निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ।

विशेष महाधिवेशनबाट गठित निर्वाचन समितिले आज पत्रकार सम्मेलनमार्फत पुरानै विधानका प्रावधानअनुसार नेतृत्व चयन गरिने जानकारी दिएको हो। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री तथा १२१ केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने बताए।

विशेष महाधिवेशनद्वारा तयार पारिएको कार्यविधिअनुसार पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। सोही कार्यविधिअनुसार केसीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय निर्धारण गरेको जनाएको छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेकामा निधन भएका तथा अन्य दलमा प्रवेश गरेका प्रतिनिधि बाहेक हाल ४ हजार ६ सय ३५ जना महाधिवेशन प्रतिनिधि कायम रहेको निर्वाचन समितिले स्पष्ट पारेको छ।

विशेष महाधिवेशन पक्षधरहरूले विधानअनुसार पारदर्शी, निष्पक्ष र लोकतान्त्रिक तरिकाले निर्वाचन सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन्।

Author: