मधेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा प्रदेशसभा सदस्य पदबाट राजीनामा

जनकपुरधाम । मधेश प्रदेश सरकारका पूर्वमुख्यमन्त्री सतिश सिंहले सोमबार प्रदेशसभा सदस्य पदबाट औपचारिक रुपमा राजीनामा दिएका छन् ।

प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको औपचारिक पत्र उनले सभामुख रामअशिष यादवलाई बुझाएका हुन् । मधेश प्रदेशसभाको निर्वाचित सदस्य सिंहले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८४ (१) बमोजिम प्रदेशसभा सदस्य पदबाट माघ ५ गतेदेखि लागू हुनेगरी राजीनामा बुझाएका छन् । उनलाई सभामुख यादवले विदाई गर्दै आगामी यात्राको शुभकामना दिएका छन् ।

उनी सप्तरी २ क बाट निर्वाचित भएका थिए । पूर्व मुख्यमन्त्री सिंहले पार्टीको साधारण सदस्य समेतबाट समेत राजिनामा दिएको बताएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उनका दाजु सत्यवानकुमार सिंहको नेतृत्वमा दर्ता गरिएको ‘स्वाभिमान पार्टी’बाट सप्तरी क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने तयारी गरेका छन् ।

उनी २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस