राजविराज । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले धनुषा क्षेत्र नम्बर १ को निर्वाचन सन्दर्भमा आयोगले गरेको निर्णय सही रहेको बताएका छन् ।
सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले उम्मेदवारको उम्मेदवारी नै खारेज भइसकेपछि सम्पूर्ण प्रक्रिया नै खारेज भइसकेकोले कुनै विवाद नरहेको स्पष्ट भएको बताए । विशेष परिस्थितिमा विशेष व्यवस्थापनका साथ आयोगले निर्वाचन सम्पन्न गरेकोमा प्रशंसा गर्दै पूर्व प्रमुख आयुक्त डा. यादवले भने ‘विशेष व्यवस्थापनका साथ निर्वाचन सम्पन्न भएको छ, यसका लागि त नेपाल सरकार र निर्वाचन आयोगलाई धन्यवाद् दिनैपर्छ, धनुषाको क्षेत्र नम्बर १ मा आयोगले सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै फागुन १८ गते खारेज गरेर अन्तिम परिणामसम्म घोषणा गरेर आफ्नो दायित्व निर्वहन गरेको छ ।’
आयोगले गरेको निर्णय क्लीयर रहेको अवस्थामा सर्वोच्च अदालतमा एक उम्मेदवारले रिट दायर गरेको अवस्थामा उक्त विषयमा आफुले केही बोल्न नमिल्ने बताए । आयोगको निर्णयअनुसार ‘क्वालिफाइड इलेक्टेड’ भइसकेको बताउँदै उनले भने ‘आयोगले गर्नुपर्ने काम गरिसकेको छ तथापि कोर्ट सुप्रिम पावर हो, सुप्रिम डिसिजन गर्ला, आशा गरौँ राम्रै डिसिजन आउँला ।’
धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले केही समय अन्तिम परिणाम घोषणा रोकिएको थियो । आयोगबाट प्राप्त निर्देशनसहितको पत्र अनुसार मत परिणामको औपचारिक घोषणा गरिसकेको छ ।
गत फागुन १९ गते निर्माण कम्पनीसँग सम्बन्धित विषयमा निर्वाचन आयोगमा परेको उजुरीका आधारमा साह कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त विषयमा अदालतबाट सोमबार कारण देखाउ आदेश जारी भएको छ ।
निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतपरिणामअनुसार नेकपा उम्मेदवार मातृका प्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामपल्टन साहले ९ हजार ४८५ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले ९ हजार २२० मतसहित तेस्रो स्थान हासिल गरेका छन् ।