शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन, मन्त्रीहरूको शपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ । गठनसँगै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहको उपस्थितिमा मन्त्रीहरूलाई शपथ गराएका हुन् । मन्त्रिपरिषद्मा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् ।

सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री, डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि तथा पशुपक्षी एवं वन तथा वातावरणमन्त्री, डा. दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन् ।

रक्षा तथा उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले नै सम्हालेका छन् ।राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (१) अनुसार आज शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

शपथ समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की तथा पूर्व प्रधानमन्त्रीहरू सहभागी थिए । साथै संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस