काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार बिहान ८ बजेदेखि निर्धारण गरिएका सबै परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष परीक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नयाँ निर्देशिका लागू गरिएको छ, जसले अनियमितता न्यून गर्ने र नतिजा छिटो प्रकाशन गर्ने लक्ष्य राखेको छ। चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८ सय ५५ विद्यार्थी रहेका छन्। परीक्षार्थीमध्ये छात्राको संख्या छात्रभन्दा बढी छ।
देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी सहभागी छन्। जापानस्थित एक केन्द्रबाट समेत २३ विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन्।
यस वर्ष परीक्षा सम्पन्न भएको तीन दिनभित्रै उत्तरपुस्तिका परीक्षण सक्ने योजना बनाइएको छ। परीक्षण कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन सीसीटीभी जडान, सुरक्षित कक्षमा परीक्षण, र परीक्षकलाई मोबाइल लगायत विद्युतीय उपकरण प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
त्यसैगरी, लापरवाही गर्ने परीक्षकलाई पुनः परीक्षण गराउने, पारिश्रमिक कटौती गर्ने वा सूचीबाट हटाउनेसम्मको कारबाही गर्ने व्यवस्था गरिएको छ। सम्बन्धित निकायले यसपटकको परीक्षा निष्पक्ष, व्यवस्थित र छिटो नतिजा प्रकाशनतर्फ केन्द्रित रहेको जनाएको छ। File Pic.