लायन्स ३२५ एफमा चुनावी सरगर्मी, किशोर भक्त श्रेष्ठ बलिया प्रत्यासी

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल अन्तर्गतको डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सन वैशाख ५ गते शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित महेन्द्र क्लबमा सम्पन्न हुने भएको छ। कन्भेन्सनसँगै आगामी लायन वर्ष २०२६/०२७ का लागि नयाँ नेतृत्व चयन हुने भएपछि निर्वाचन गतिविधि तीव्र बनेको छ।
उपलब्ध जानकारीअनुसार हालका फष्ट भाइस गभर्नर लायन अजयप्रसाद खनाल आगामी वर्षका गभर्नरमा निर्वाचित हुने निश्चित जस्तै देखिएको छ। त्यस्तै सेकेण्ड भाइस गभर्नर मनोजकुमार सापकोटा फष्ट भाइस गभर्नरमा उक्लिने सम्भावना प्रबल छ। द्वितीय भाइस गभर्नर पदका लागि भने लायन किशोर भक्त श्रेष्ठ बलिया प्रत्यासीका रूपमा अगाडि देखिएका छन्।

तीन दशकभन्दा लामो लायनिज्म यात्रामा सक्रिय श्रेष्ठले अन्तर्राष्ट्रियस्तरमै उल्लेखनीय आर्थिक योगदान गर्दै सेकेण्ड सेन्चुरी एम्बेसडर, प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो र आजीवन सदस्यजस्ता सम्मान प्राप्त गरेका छन्। डिष्ट्रिक्ट ३२५ एफभित्र समावेशिता, भौगोलिक सन्तुलन र लैंगिक प्रतिनिधित्वलाई सुदृढ बनाउनुपर्ने आवश्यकताबीच श्रेष्ठलाई उपयुक्त उम्मेदवारका रूपमा धेरै क्लबहरूको समर्थन प्राप्त भएको बताइएको छ।
समाजसेवामा निरन्तर सक्रिय श्रेष्ठले त्रिवि शिक्षण अस्पतालको ब्लड बैंकका लागि १० लाख रुपैयाँ सहयोग गर्ने पहिलो दाताका रूपमा पहिचान बनाएका छन्। साथै, नेपाल अपाङ्ग कोषमार्फत विगत १५ वर्षदेखि निरन्तर सहयोग गर्दै आएका उनले हालै करिब १३ लाख बराबरका सहायक सामग्री वितरण गरेका छन्।
डिष्ट्रिक्टको दीर्घकालीन विकासका लागि व्यवस्थित कार्यालय तथा सेवा केन्द्र स्थापना गर्ने लक्ष्य लिएका श्रेष्ठले आगामी तीन वर्षभित्र आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना अघि सारेका छन्। पूर्व गभर्नर तथा वरिष्ठ लायन लिडरहरूको समेत समर्थन प्राप्त गर्दै आएका श्रेष्ठलाई यसपटक द्वितीय भाइस गभर्नरमा निर्वाचित हुने बलियो दाबेदारका रूपमा हेरिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस